एमालेविरुद्ध गठबन्धन बनाएका हौं : देव गुरुङ
सत्तारुढ नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले केपी शर्मा ओली नेतृत्वको सरकारले साँढे तीन वर्षको आफ्नो कार्यकालमा उत्पादनमूलक क्षेत्रमा लगानी नगरेकाले अहिले मुलुकको आर्थिक अवस्था कमजोर भएको आरोप लगाउनुभएको छ । आज राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले उक्त धारणा व्यक्त गर्नुभएको हो ।
गुरुङले उत्पादन क्षेत्रमा लगानी नहुँदा मुलुक आयातित वस्तुहरुमा लगानी गर्न बाध्य हुनुपर्ने अवस्था आएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘केपी ओली नेतृत्वको सरकारले साँढे तीन वर्षको आफ्नो कार्यकालमा उत्पादनमूलक क्षेत्रमा लगानी गरेन । त्यसकै कारण अहिले मुलुकको आर्थिक अवस्था कमजोर भएको हो ।’
प्रमुख सचेतक गुरुङले एमालेले प्रतिगमनकारी, पश्चागमनकारी कदम चालेकाले त्यसलाई रोक्न यथास्थितिवादी काँग्रेससँग गठबन्धन बनाउनु परेको दाबी गर्नुभयो । साथै, उहाँले गठबन्धन दलबीचको सहमति विपरित स्थानीय तह निर्वाचनका लागि आफूखुशी दिइएका उम्मेदवारी फिर्ता लन सबै पालिकामा पहल भइहेको जानकारी गराउनुभयो ।
‘हामी सत्तारुढ गठबन्धन दलबीचको सहमति विपरित स्थानीय तह निर्वाचनका लागि आफूखुशी दिएको उम्मेदवारी फिर्ता लिन सबै ठाउँमा सहमति जुटाउन प्रयास र पहल गरिरहेका छौँ, यसमा सहमति हुन्छ भन्ने कुरामा हामी आशावादी छौँ,’ उहाँको भनाइ थियो ।
टिप्पणीहरू