अस्ट्रेलिया पुगेका नेपाली विद्यार्थी फर्कन थाले

अस्ट्रेलिया पुगेका नेपाली विद्यार्थी फर्कन थाले

पछिल्लो समय उच्च शिक्षाका लागि नेपालबाट अस्ट्रेलिया जाने विद्यार्थीको संख्या बढ्दो छ । विद्यार्थीहरुले उच्च शिक्षा हासिल गर्नका निम्ति अस्ट्रेलिया नै रोज्छन् । तर, अस्ट्रेलियामा जीवनयापन सोचेजसो सजिलो छैन ।

कामको धपेडी,समय सीमाको चिन्ता,आर्थिक जटिलतालगायतका समस्या त्यहाँ पुगेका नेपाली विद्यार्थीहरुले खेपिरहेका छन् । सजिलै उच्च शिक्षा र गतिलो आर्थिक कमाइ हुने आसमा विद्यार्थीहरु अस्ट्रेलिया भित्रिने गर्दछन् । तर,यहाँबाट सोचेर गएकोभन्दा बेग्लै भोगाइ उनीहरुले त्यहाँ पुगेपछि पाउँछन् ।

जसका कारण अस्ट्रेलिया पुगेका थुप्रै विद्यार्थी अलपत्र पर्ने गरेका छन् । कतिपय त मानसिक तनावको शिकारसमेत भएका छन् । आफ्नो सुन्दर भविष्यको सपना बोकेर अस्ट्रेलिया भित्रिएका दुई जना विद्यार्थीको हालत पनि उस्तै भएको छ । एनआरएनए भिक्टोरियाले ती दुई विद्यार्थीलाई टुक्रिएको सपनाको भारीसहित नेपाल फिर्ता पठाएको छ ।

एनआरएनएको पहलमा उनीहरु नेपाल फर्किएका छन् । उनीहरुको टिकट खर्चसमेत एनआरएनले ब्यहोरेको हो । गत साता अस्ट्रेलिया पुगेका विद्यार्थीहरुको पासपोर्टमा खराबी देखिएका कारण उनीहरु ले फर्किनुपरेको छ । एनआरएनएका उप–सभापति हरि खड्काले कागजात पूरा गरेर उनीहरुलाई नेपाल फर्किन सहयोग गरेका हुन् ।

अस्ट्रेलियाको नाम सुन्नेबित्तिकै नेपाली विद्यार्थीहरु मख्ख पर्छन् । झन् त्यहाँ जाने भनेपछि केही तयारी नगरी,अध्ययन नै नगरिकन दौडाउँछन् । जसले गर्दा उनीहरुले बेकारमा दुःख पाइरहेका छन् । आफ्नो छोराछोरी अस्ट्रेलिया आएपछि उनीहरुको अवस्था कस्तो छ ? यसबारे बाबु,आमाले जानकारी राखिरहनुपर्छ । साथै, विद्यार्थीहरुले पनि आफू जाने मुलुकको सम्पूर्ण अध्ययन गर्नुपर्ने अवस्था छ ।

टिप्पणीहरू