निर्वाचन कार्यालयमै फेरिए एमालेका उम्मेदवार

निर्वाचन कार्यालयमै फेरिए एमालेका उम्मेदवार

रुकुम पश्चिममा नेकपा एमालेका उम्मेदवारहरुको उम्मेदवारी दर्ता पार्टीले सिफारिस गरेको भन्दा भिन्न तरिकाले भएको छ । काँग्रेससँग तालमेल हुने सम्भावनालाई स्वीकारेर एमालेले निर्वाचन कार्यालय पुगेपछि उम्मेदवारै परिवर्तन गरेको हो ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको उपप्रमुख पदको लागि नेकपा एमालेबाट सिफारिस भएकी डण्डी कार्कीको उम्मेदवारी नगर उपप्रमुख पदमा दर्ता भएको थियो । सोमबार स्थानीय तह निर्वाचनको लागि उम्मेदवारी दर्ता गर्न चौरजहारीस्थित निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गर्ने अन्तिम समयमा उपप्रमुखबाट नाम हटाएर प्रमुख पदमा मनोनयन दर्ता गरियो । उपप्रमुखमा भने नगर प्रमुखको लागि पार्टीले सिफारिस गरेका टंकप्रसाद ओलीको उम्मेदवारी परेको छ ।

मुसिकोट नगरपालिकामा नगर प्रमुखको लागि पार्टीबाट निर्णय भएका थलबहादुर ओलीले पनि अन्तिम समयमा उपप्रमुख पदमा उम्मेदवारी दर्ता गराएका छन् । उपप्रमुख पदमा पार्टीले उम्मेदवारीका लागि निर्णय गरेकी चन्द्री महतारालाई हटाएर प्रमुख पदमा अन्जना चन्द गौतमको नाम मनोनयन गरेपछि दर्ता गरिएको हो । यो पनि उम्मेदवारीको अन्तिम समयमा मुख्य निर्वाचन अधिकृतकै कार्यालयमा फेरिएको एमालेको अर्को निर्णय थियो ।

उम्मेदवारी दर्ताको अन्तिम समयमा नेपाली काँग्रेस र नेकपा एमालेले रुकुम पश्चिममा चुनावी तालमेल गर्ने गरी पार्टीले सिफारिस गरेका उम्मेदवार परिवर्तन गर्नुपरेको एमाले रुकुम पश्चिमले जनाएको छ । नेकपा एमाले रुकुम पश्चिमका प्रचार विभाग प्रमुख कर्णबहादुर वलीले उम्मेदवारी दर्ताको अन्तिम अवस्थामा निर्णय बदल्नुपरेको जानकारी दिए । उनले निकै तनावग्रस्त अवस्थामा निर्णय गर्नुपरेको उल्लेख गर्दै भने, ‘नेपाली काँग्रेसले बेलैमा छलफल नगरेर अन्तिम समयमा तालमेलको प्रस्ताव गर्दा यसो गर्नुपरेको हो ।’

जिल्लाका लगभग सबै स्थानीय तहमा काँग्रेस–एमाले गठबन्धन देखिएको छ । काँग्रेसले प्रमुख र अध्यक्ष तथा एमालेले उपप्रमुख र उपाध्यक्ष लिने गरी तालमेल मिलाउन उम्मेदवारी दर्ता गरिएको छ । अहिले दुवै दलले प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्षमा आ–आफ्नै उम्मेदवार उठाए पनि पछि उम्मेदवारी फिर्ता लिने गरी तयारी भएको बताइन्छ ।
जिल्लाको आठबिसकोट नगरपालिकामा पनि नगर प्रमुख र उपप्रमुखको उम्मेदवारी परिवर्तन गरेर दर्ता गरिएको छ । पार्टीबाट नगर प्रमुखमा सिफारिस भएका दिनेश चन्दले उपप्रमुखमा उम्मेदवारी दर्ता गराएका हुन् । उपप्रमुखमा सिफारिस भएकी कृष्णकुमारी मल्लले प्रमुखमा उम्मेदवारी दिइन् । त्यहाँ पनि नगर प्रमुखमा काँग्रेस र उपप्रमुखमा एमालेलाई सहयोग हुने मिलाइएको छ । आठबिसकोटमा आठ वटा वडा नेपाली काँग्रेस र छ वटा वडा एमालेको भागमा परेको छ ।

जिल्लाको सानीभेरी गाउँपालिकामा अध्यक्षका रुपमा एमालेको तर्फबाट उम्मेदवार सिफारिस गरिएका प्रकाश खड्काले उपाध्यक्ष पदमा मनोनयन दर्ता गराएका छन् । उनले नेपाली काँग्रेससँगको चुनावी तालमेल हुने भएपछि उपाध्यक्षमा सिफारिस भएकी पवित्रा डाँगीलाई रोकेर आफूले मात्र उपााध्यक्षमा उम्मेदवारी दर्ता गराएको उल्लेख गरे । उनका अनुसार एमालेले तीन वटा वडामा मात्र वडाध्यक्षको उम्मेदवारी दर्ता गराएको छ । पालिका अध्यक्ष र अरु सबै वडामा काँग्रेसका उम्मेदवारलाई एमालेले सहयोग गर्ने जानकारी दिइएको छ ।

दुई पालिकामा छलफल हुँदै

जिल्लाको बाँफिकोट र त्रिवेणी गाउँपालिकामा भने हालसम्म एमालेसँग तालमेलको कुरा मिलेको छैन । यी दुवै पालिकामा एमाले र काँग्रेसले पार्टीले गरेको सिफारिसअनुसार नै उम्मेदवारी दर्ता गराएका हुन् । बाँफिकोटमा नेपाली काँग्रेसका जनकुमार बाँठा र नन्दा केसीले अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।

एमालेका गणेशकुमार केसी र देउमी पौडेलले उम्मेदवारी हालेका हुन् । त्रिवेणी गाउँपालिकामा नेपाली काँग्रेसका अमरसिंह खड्काले अध्यक्षमा र सुष्टि बाँठा मगरले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । एमालेका चोपलाल खड्का र धनकला बिष्टले अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी हालेका हुन् । एमालेबाट गाउँपालिका अध्यक्षको लागि सिफारिस भएका डिल्लीबहादुर वलीले भने स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

रुकुम पश्चिममा केन्द्रीय सर्कुलरअनुसार सत्ता गठबन्धन बन्न नसकेपछि काँग्रेसले एमालेसँग तालमेल गरेको हो । केन्द्र र प्रदेशले सत्ता गठबन्धनभन्दा बाहिर गएर गठनबन्धन नगर्न चेतावनी दिए पनि रुकुम पश्चिममा काँग्रेसले नेकपा एमालेसँग सत्ता गठबन्धन गर्न लागेको छ ।

माओवादी–समाजवादी गठबन्धन

जिल्लाका केही पालिकामा नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले गठबन्धन गर्ने भएका छन् । मुसीकोट नगरपालिकामा भने माओवादी केन्द्रले नगरप्रमुख सहित १३ वटा वडाध्यक्ष र समाजवादीले उपप्रमुख सहित एउटा वडा लिने सहमति गरेर सोहीबमोजिम उम्मेदवारी दर्ता गरिएको छ ।

नगरप्रमुख र उपप्रमुखमा दुवै पार्टीका केन्द्रीय सदस्यहरु वसन्तकुमार शर्मा र विमलकुमार पुनले उम्मेदवारी दर्ता गराएका छन् । आठबिसकोट नगरपालिकामा पनि समाजवादीबाट नगर प्रमुखमा सिफारिस भएका हरिप्रसाद शर्माले उपप्रमुखमा र उपप्रमुखमा सिफारिस भएकी भगवती शाहीले प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका छन् । त्यहाँ नगर प्रमुखमा माओवादी केन्द्रलाई र उपप्रमुखमा नेकपा एकीकृत समाजवादीलाई सहयोग गर्नेगरी तालमेल भएको हो ।

टिप्पणीहरू