अस्पतालको इमर्जेन्सीमा रक्सीले लठ्ठ नर्सको जागिर र नाम दुबै चट्
राष्ट्रिय ट्रमा सेन्टरमा खटिएका स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार गरेको आरोपमा मुछिएकी नर्स जिता बरालको नाम दर्ता सूचीबाट हटाइएको छ । नेपाल नर्सिङ परिषद्को गत चैत १३ गते बसेको बोर्ड बैठकले नर्स जिताको नाम दर्ता किताबबाट हटाउने निर्णय गरेको हो ।
सेन्टरका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेण्ड डा. सन्तोष पौडेलले जानकारी तथा आवश्यक कारबाही सम्बन्धमा पठाएको पत्रमा नर्स जितालाई नेपाल नर्सिङ परिषद् ऐन २०५२ तथा नेपाल नर्सिङ परिषद् २०६५ अनुसार कारबाहीका लागि माग भएको थियो ।
सो सम्बन्धमा जाँचबुझ समिति गठन भइ छानबिन अघि बढाइएको थियो । समितिले नर्स जिताले आचारसंहिताको उल्लघंन गरेको प्रतिवेदन पेश भएपछि उनलाई नर्सको सूचीबाट हटाउने निर्णय भएको परिषद्ले जनाएको छ ।
परिषद्को नियमावली २०६५ को नियम ४ (१) (ट) बमोजिम नर्सिङ सेवामा आँच आउने कार्य गर्न नहुने व्यहोरा उल्लेख छ । तर, जिताले आचारसंहिता उल्लंघन गरेको भन्दै दर्ता नम्बर ८८९४ मा रहेको उनको नाम हटाइएको हो ।
परिषद्की सदस्यसमेत रहेकी बरालले २०७७ असोज ६ गते साँझ राष्ट्रिय ट्रमा सेन्टरको इमरजेन्सी कक्षमा मादकपदार्थ सेवन गरी असामान्य र स्वास्थ्यकर्मीहरूमाथि अभद्र व्यवहार गरेको भिडियो बाहिरिएको थियो ।
टिप्पणीहरू