राष्ट्र बैंकका हाकिमहरुको कामभन्दा कुरा ठूला

राष्ट्र बैंकका हाकिमहरुको कामभन्दा कुरा ठूला

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले मुलुकको केन्द्रीय बैंक डिजिटल मुद्रा चलाउने बाटोमा गएको बताएका छन् । उनले बैंकको ६७ औं वार्षिकोत्सवका अवसरमा बोल्दै उक्त कुरा बताएका हुन् ।

डेपुटीले कागजी र डिजिटल मुद्रा भनेर उल्लेख गर्नु बैंक ऐनको प्रतिकूल रहेको बताइएको छ । एनमा नेपाल राष्ट्र बैंकको स्थापना कागजी मुद्राको प्रचलन बढाउन भनेर नलेखिएकोतर्फ ध्यानाकर्षण गराउँदै एक जना कानुनवेत्ताले भने, ‘यसबाट उहाँले ऐन नपढी बोलेको कुरो हो भन्ने पक्का हुन्छ ।’

सूचना प्रविधिको उत्कृष्ट विकास गरिरहेका चीन र भारतका केन्द्रीय बैंकले समेत फुकीफुकी डिजिटल करेन्सीको कुरो उठाएको बेलामा नेपाल राष्ट्र बैंकका अधिकारीले हचुवाको भरमा व्यक्त गरेका त्यस्ता धारणामा कुनै दम नभएको हालै अवकाश भएका एक जना कार्यकारी निर्देशकले बताएका छन् ।

तरकारी बजारमा क्युआर कोड राख्दैमा मुलुक डिजिटल पेमेण्टमा रुपान्तरण भएको सोच्नु मुर्खता शिवाय अरु केही नभएको उनी बताउँछन् । एउटा उदाहरण दिँदै उनले भने, ‘अहिले विदेश जान रोकिएको दुई वर्ष भएको छ । त्यस अघिसम्म विदेश जाँदा राष्ट्र बैंकले दिने विदेशी मुद्रालाई क्रेडिट कार्ड वा डलर कार्डमा नलैजाने गभर्नर, डेपुटी गभर्नर र बैंकका कर्मचारीले डिजिटल करेन्सी, डिजिटल पेमेण्ट र डिजिटल इकोनोमीको कुरो गर्नु एक छिनको रमाइलो मात्र हो ।’

हिजै गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रको वाह्य क्षेत्र केही दबाबमा रहेकाले त्यस्तो दबाब कम गर्न अर्थतन्त्रमा नीतिगत सुधारको पहल भइरहेको जानकारी दिएका छन् । उनले कोभिडको असर कम भएसँगै अर्थतन्त्रमा सुधार हुँदै गएको समेत बताएका छन् ।

कोरोनाविरुद्ध खोपको पहुँच बढेकाले आर्थिक गतिविधि बढ्दै गएको भन्दै उनले अर्थतन्त्रमा केही सुधार हुने संकेत देखा परेको उल्लेख गरेका हुन् ।

टिप्पणीहरू