सर्वोच्चको आदेशअघि अर्थमन्त्री प्रचण्डकोमा,प्रचण्ड बालुवाटारमा
हिजो बिहान बालुवाटारमा भएको गठबन्धनको बैठकबाट निस्केपछि अध्यक्ष दाहाल पुनः भेटघाटमा सक्रिय हुनुभयो । दिउँसो उहाँसँग अर्थमन्त्री जनार्दन शर्माले खुमलटारस्थित दाहाल निवासमा सवा २ बजेदेखि झण्डै ४ बजेसम्म भेट गर्नुभएको थियो ।
त्यतिबेला सर्वोच्च अदालतको इजलाश नम्बर ९ मा सरकार, प्रधानमन्त्री र अर्थमन्त्रीविरुद्ध राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दायर गर्नुभएको रिटमाथि गरमागरम बहस भइरहेको थियो । अस्ति बिहीबार र मंगलबार दुई दिन न्यायाधीशद्वय सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको संयुक्त इजलाशमा परेको उक्त मुद्दा हेर्दाहेर्दैमा गएको हो ।
हिजो बिहानैदेखि सोही मुद्दामाथि पक्ष र विपक्षका वकिलहरुले आफ्नो तर्क राखेका थिए । झण्डै साँझ सवा ५ बजेसम्म भएको बहसपछि यसअघि न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले दिएको अन्तरकालीन अन्तरिम आदेशबमोजिम मुद्दा टुंगो नलागञ्जेल अन्तरिम आदेशले निरन्तरता पाएको छ ।
अदालतको आदेश आउनुअघि बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच सवा ४ बजेबाट साढे ५ बजेसम्म भेटवार्ता भएको थियो ।
उहाँहरुले उक्त मुद्दामा भएको सर्वोच्चको आदेश बालुवाटारमै सुन्नुभयो ।
टिप्पणीहरू