सामाजिक सञ्जालमा मिथ्या सूचना दिनेलाई कारबाही
निर्वाचन आयोगले सामाजिक सञ्जालमा राजनीतिक दल र उम्मेदवारप्रति मिथ्या सूचना र द्वेषपूर्ण अभिव्यक्ति दिनेलाई कारबाहीको चेतावनी दिएको छ । स्थानीय तहको निर्वाचनको स्वच्छता, स्वतन्त्रता र गरिमामाथि नै आँच आउने गरी उक्त कार्य भइरहेको भन्दै तत्काल नरोके कारबाही गर्ने चेतावनी दिएको हो ।
निर्वाचन ऐन २०७३ को दफा २३ निर्वाचन कसुर तथा सजाय ऐन २०७३ र प्रचलित कानुनबमोजिम सामाजिक कारबाही हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।
आयोगले निर्वाचनलाई प्रभावित पार्ने खालका सामग्रीको सीमावर्ती क्षेत्रबाट प्रचार प्रसार नगराउन आवश्यक पत्राचारको निम्ति पनि परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ ।
त्यसैगरी राजनीतिक दल र उम्मेदवारले निर्वाचन आचारसंहिताको परिधिभित्र रहेर उम्मेदवारको अन्तिम सूची प्रकाशनको २४ घण्टाभित्र राजनीतिक दलको हकमा निर्वाचन आयोग र उम्मेदवारको हकमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा आफ्नो सामाजिक सञ्जालको खाताको विवरण अनिवार्य रुपमा बुझाउन पनि निर्देशन दिएको छ ।
टिप्पणीहरू