केशव स्थापितमाथि रश्मिलाद्वारा लागेको यौन दुर्व्यवहारको आरोपविरुद्ध प्रतिआरोप :गल्ती ढाकछोप गर्ने फण्डा
काठमाडौं महानगरपालिकाका पूर्वमेयर,बागमती प्रदेशका पूर्वमन्त्री तथा हाल एमालेले काठमाडौं महनगरको मेयरमा उठाएका उम्मेदवार केशव स्थापितविरुद्ध यौन दुराचारीको आरोप लाग्दै आएको छ । उनलाई उक्त आरोप महानगरपालिकाकै पूर्व करार कर्मचारी रश्मिला प्रजापतिले लगाएकी हुन् ।
बीचमा मत्थर भएको उक्त आरोप स्थापितले मेयर पदमा नाम मनोनयन गरेपछि एकाएक चर्किएको छ । अहिले महानगरपालिकाको सेवामा नरहेकी प्रजापतिले लगाएको उक्त आरोप आफ्नै अनियमितता ढाकछोप गर्न उछालिएको महानगरपालिका स्रोतले बताएको छ । त्यतिबेला आर्थिक अनियमितामा मुछिएकी र अधिकांश कर्मचारी युनियनले चर्को विरोध गरेपछि हटाइएको रिस फेर्न उनले अहिले त्यहि विषयलाई नयाँ फण्डाको रुपमा अघि सारेको स्रोतको दाबी छ ।
प्रजापतिले जागिरबाट हटाइएको वास्तविक कारण ढाकछोप गरी स्थापितले यौन प्रस्ताव राखेको र उक्त प्रस्ताव नमानेका कारण महानगरको सेवाबाट हटाएको दाबी गर्दै आएको कुरो झुठो भन्दै महानगर प्रशासनले त्यसबेलाका कर्मचारी युनियनहरु र व्यवस्थापनबीच भएको सम्झौताको प्रति नै सार्वजनिक गरेको छ ।
त्यतिबेलाको अवस्था र घटनाको बारेमा जानकारी गराउँदै महानगरपालिका स्रोतले भनेको छ, ‘रश्मिला हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रममा करार शाखा अधिकृतका रुपमा कार्यरत थिइन् । उक्त कार्यक्रममा आर्थिक हिनामिना र अनियमितता भएको उजुरी कर्मचारीहरुले नै गर्न थालेपछि छानबिनको निम्ति समिति गठन गरियो । समितिले तयार पारेको प्रतिवेदनका आधारमा उनलाई हटाइएको हो ।’
प्रजापतिले त्यतिबेला महानगरका एक जना गाडी चालक र अर्का एक जना कर्मचारीलाई अपशब्द प्रयोग गरेर गालिगलौज गरेपछि तत्कालीन कर्मचारी युनियनले उनको राजीनामा माग्दै आन्दोलन चर्काएको थियो । ‘त्यसपछि क्रमशः उनले गरेका अनियमिततालगायत अन्य मागहरू जोडेर कर्मचारी आन्दोलित बने । रश्मिलालाई कारवाहीको माग राख्दै सफाई मजदुरहरुले चार दिनसम्म राजधानीको फोहरसमेत उठाउन उठाएनन् ।’
एउटी करार कर्मचारीको ‘छुद्र वचन’ का कारण सबै कर्मचारी आन्दोलनमा उत्रेकाले महानगर प्रशासन आन्दोलन साम्य पार्न सबै किसिमका उपाय अपनाउन बाध्य भएको बताइन्छ । सोही क्रममा आन्दोलनरत कर्मचारी र महानगर प्रशासनबीच २०६० साउन ३ गते भएको सहमतिको पहिलो बुँदामा रश्मिला प्रजापतिलाई जिम्मेवारीबाट हटाउने उल्लेख छ । त्यतिबेलाका सहमतिको माइन्युटमा पनि उक्त कुरो लेखिएको पाइएको छ ।
त्यहि दिनको सहमतिबमोजिम प्रजापतिलाई तत्काल हनुमानढोका दरवार क्षेत्र संरक्षण कार्यक्रमबाट हटाएर महानगरको अतिरिक्त समूहमा सरुवा गरिएको थियो । त्यसपछि उनीबाट भए गरेका भनिएको अनियमितताको छानबिन गर्न चार वटै कर्मचारी संगठनका प्रतिनिधि र कार्यकारी अधिकृतले खटाएका दुई जना प्रतिनिधि रहेको टोली गठन गर्ने विवरण पनि माइन्युटमा लेखिएको छ ।
एक हप्ताभित्र छानबिन प्रतिवेदन दिने र कसुरबमोजिम कारवाही गर्ने प्रतिबद्धताबमोजिम प्रजापतिलाई २०६० कात्तिक ३ गतेदेखि अवकाश दिइएको बताइन्छ । उनलाई त्यतिबेलाका निमित्त कार्यकारी अधिकृत गोपालप्रसाद पराजुलीले अवकाश दिएका थिए । पराजुलीका अनुसार त्यतिबेलाको नियमावलीमा करारमा भर्ना गरिएका कर्मचारीलाई जुनसुकै बखत सेवाबाट हटाउन सकिने प्रावधानबमोजिम नै हटाइएको हो । उनले भने, ‘ती कर्मचारीलाई पनि त्यही प्रावधानमा टेकेर हटाइएको हो, ठूलो कुरो होइन ।’
प्रजापतिविरुद्ध कर्मचारीले आन्दोलन गर्दा र उनीमाथि भएको छानबिनको समयमा स्थापित त्यहाँ मेयर नरहेको पनि महानगर स्रोतले उल्लेख गरेको छ । स्थापित २०५४ देखि २०५९ सालसम्म मेयर थिए । पछि २०६० असोज १२ गतेदेखि मनोनित मेयरका रुपमा नौ महिना मात्र काम गरेको विवरण प्राप्त भएको छ ।
टिप्पणीहरू