बुटवलमा राजनीतिक प्रोपोगण्डा शुरु

बुटवलमा राजनीतिक प्रोपोगण्डा शुरु

दुई दिनअघि रुपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले निर्वाचन आयोगलाई ठाडो चुनौती दिँदै भने– एमालेको चुनाव प्रचार प्रसारमा हिँडेर मैले निर्वाचन आचारसंहिता उल्लघंन गरको छु, सके कारबाही गरेर देखाउ ! बहालवाला मेयरले निर्वाचन आयोगजस्तो स्वतन्त्र संवैधानिक निकायमाथि ’सकेको गर’ भनेर खुलेआम चुनौती दिएको विषयलाई मूलधारका मिडियाले समाचार बनाए । त्यसपछि शुरु भएको ’पार्टीकारिता’ र प्रोपोगण्डाको राजनीति लाजै लाग्ने गरि छरपष्ट भएको छ ।

शुरुमा एमाले निकट प्रेस चौतारीमा आबद्ध केही पत्रकारहरुले उक्त समाचारको जमेर आलोचना गरेका थिए । आफ्ना मेयरविरुद्ध समाचार लेखेकोमा आक्रोशित चौतारीका पत्रकारहरुको उदण्डताको चर्चा सेलाउन नपाउँदै बुटवलको चुनावी अभियानलाई नै प्रभावित पार्ने गरी माउ पार्टी एमालेमाथि संगठितरुपमै मिडिया प्रोपोगण्डा शुरु गरेको आरोप लागेको छ ।

बहालवाला मेयरसँग सम्बन्धित समाचारको काउण्टरमा एमालेले दर्ता नै नभएका अनलाइनहरुको प्रयोग गरेर मेयरका उम्मेदवार खेलराज पाण्डेविरुद्ध योजनाबद्ध अफवाह फैलाउन खोजेको सत्ता गठबन्धनवालाहरुको आरोप छ । गठबन्धनका तर्फबाट मेयरको उम्मेदवार रहेका काँग्रेस नेता पाण्डेले गत निर्वाचनमा आर्थिक हिनामिना गरेको भनेर नामै नसुनिएका अनलाइनहरुमा व्यापक पारिएको र त्यसमा एमालेको हात रहेको गठबन्धनका नेताहरुले दाबी गरेका छन् । काँग्रेसका नेताहरुले त विज्ञप्ति नै निकालेर आपत्ति जनाएका छन् ।काँग्रेस लुम्बिनी प्रदेश कोषाध्यक्ष प्रकाश राना, बुटवल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष महेशमान सिंह, काँग्रेसका क्षेत्रीय प्रतिनिधि गोपाल पाण्डे, बुटवल उद्योग वाणिज्य संघका सचिव मुक्ति अधिकारीले विज्ञप्ति निकाल्दै भ्रामक समाचार प्रकाशन गर्ने अनलाइनलाई कारबाही गर्न प्रेस काउन्सिलसँग माग गरेका छन् । उनीहरुले विज्ञप्ति निकाल्दै भनेका छन्, ‘२०७४ सालको स्थानीय निर्वाचनमा बुटवल उपमहानगरपालिकाका उम्मेदवार खेलराज पाण्डेले ४० लाख रुपैयाँ आर्थिक हिनामिना गरेको भन्ने कुरा कपोलकल्पित र भ्रामक हो । सो विषयमा कुनै पनि विवाद नभएको स्पष्ट पार्दै त्यसबेलाको आर्थिक हिसाबकिताब पारदर्शी रहेको व्यहोरा जानकारी गराउँछौं ।’

उनीहरुले भ्रामक विवरण उल्लेख गरी सम्बन्धित पक्षसँग प्रतिक्रिया नै नलिई गलत समाचार लेख्ने अनलाइनलाई सत्यता पुष्टि गर्न चुनौती पनि दिएका छन् । ’अरु के छ’ नामको दर्ता नभएको अनलाइन चलाएर भ्रामक समाचार भाइरल गराई एमाले चुनावी प्रतिस्पर्धाबाट अत्तालिएको भन्दै विज्ञप्तिमा प्रोपोगण्डाको राजनीति नगर्न सुझाव दिइएको छ ।

टिप्पणीहरू