बिहेको निम्तो मानेर राहुल गान्धी स्वदेश फर्किए

बिहेको निम्तो मानेर राहुल गान्धी स्वदेश फर्किए

आफ्नी साथीको बिहेको निम्तो मान्न काठमाडौं आएका भारतीय काँग्रेस आईका पूर्वअध्यक्ष राहुल गान्धी केही बेरअघि स्वदेश फर्किएका छन् । गत सोमबार अपरान्ह काठमाडौं उत्रिएका उनी मंगलबार साँझ ललितपुरको मानभवनस्थित बेहुलीको घरमा आयोजित विवाह समारोहमा उपस्थित भएका थिए ।

सोमबार राति ठमेलको एउटा नाइटक्लबमा राति अबेरसम्म बसेका गान्धीको फोटो र भिडियोलाई भारतीय जनता पार्टीका नेताहरुले चर्को शब्दमा आलोचना गरेका थिए ।

मंगलबार राति पौने १० बजे विवाह समारोहस्थलबाट उनी ललितपुरको दक्षिणी भेगमा रहेको लाँकुरी भञ्ज्याङ्स्थित एउटा रिसोर्टमा बास बस्न गएका थिए । उक्त रिसोर्ट बेहुलीका पिता तथा म्यानमारका लागि नेपालका पूर्वराजदूत भीम उदासको भएको बताइन्छ ।

उदासकी छोरी सुम्निमा सीएनएनको नयाँ दिल्लीस्थित संवाददाता हुँदा उनीहरुबीच अति निकटको साथीको सम्बन्ध थियो ।

टिप्पणीहरू