नेपाली मुसलमानहरुलाई गृह मन्त्रालयको सूचना
गृह मन्त्रालयले हज गर्न साउदी अरेबिया जान चाहने मुसलमानहरुसँग आवेदन मागेको छ । गृहले गठन गरेको नेपाल हज समितिले हज गर्न जाने इस्लाम धर्मावलम्वीहरुसँग आवेदन माग गरेको हो ।
साउदी सरकारबाट प्रतिनिधिमण्डलबाहेक पाँच सय ३७ जनाको कोटा निर्धारण भएर आएकाले समितिले सोहीअनुसार आवेदन मागेको हो । तीमध्ये दुई वर्षअघि विभिन्न कारणले हजयात्रा गर्न जान नपाएका र हालसम्म रकम फिर्ता नलिएकालाई प्राथमिकतामा राख्ने समितिको निर्णय छ ।
त्यस्ता आवेदकको हकमा साउदी सरकारको नियमानुसार ६५ वर्षभन्दा कम उमेर र कोरोनाको पूरा मात्राको खोप लगाएको हुनुपर्नेछ । उता जान चाहनले आगामी जेठ १० गतेसम्म आवेदन दिन सकिने समितिले जनाएको छ ।
समितिले यस वर्षदेखि अनलाइन प्रणालीमार्फत आवेदन दिने प्रबन्ध मिलाएको हो । पूराना आवेदकलाई कोटा पूरा नभएको खण्डमा मात्र नयाँ आवेदकहरु छानेपछि बाँकी रहेको कोटामा छनोट गरिनेछ । नयाँ आवेदकहरुले अनलाइनमार्फत आवेदन दिँदा तत्काल शुल्क जम्मा गर्नु नपर्ने समितिको भनाइ छ ।
तर, हजयात्राका लागि छनोट भएमा पूरा शुल्क एकमुष्ठ भुक्तानी गर्नुपर्छ । इस्लाम धर्मावलम्बीहरु हरेक वर्ष हजयात्राका निम्ति साउदीको मक्का जाने गर्दछन् ।
टिप्पणीहरू