मतदानका दिन कुन कुन सवारीसाधन चलाउन पाइन्छ ?

मतदानका दिन कुन कुन सवारीसाधन चलाउन पाइन्छ ?

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मतदान गर्ने दिन सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड स्वीकृत गरेको छ । आयोगको हिजो बसेको बैठकले स्वीकृत गरेको मापदण्डअनुसार अत्यावश्यक सेवाका बाहेक वैशाख ३० गतेका दिन सबै सवारी साधन बन्द हुनेछ ।

मापदण्डअनुसार मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारीले तोकेका सवारी साधन मतदानका दिन निर्वाध चलन पाउने छ । काठमाडौँ जिल्लाको हकमा आयोगबाट एकीकृत सवारी साधनले आवागमन डेस्कमा पत्र पेश गर्नुपर्ने छ । सवारी साधनको अनुमति पत्रका निम्ति आगामी वैशाख २८ गतेभित्र निवेदन दिइसक्नुपर्ने आयोगले जनाएको छ ।

तर, विदेशी नम्बर प्लेटका सवारी साधन प्रयोगका लागि अनुमति दिइएको छैन । मानवीय उद्धार तथा सहायतामा प्रयोग गरिने सवारी साधनको हकमा सम्बन्धित जिल्लाका सिडिओबाट अनुमति लिनुपर्ने छ । अन्तर्राष्ट्रिय हवाई उडानबाट यात्रा गर्ने यात्रुका हकमा पासपोर्ट, भिसा र हवाई टिकटका आधारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म र विमानस्थलबाट यात्रुको बासस्थानसम्मको आवागमनको सहजीकरण सिडिओले नै गर्नुपर्ने छ ।

निर्वाचन अधिकृतले अनुमति दिएका सवारी साधनको प्रयोग गरेर अशक्तहरु मतदानस्थलसम्म जान पाउने छन् । एम्बुलेन्स, खानेपानीको ट्यांकर, दमकल, दूरसञ्चार सेवा, शव वाहन, अस्पताल सेवा तथा विद्युत सेवाजस्ता अत्यावश्यक सेवा र नम्बर प्लेटमा सिडी उल्लेख भएको कूटनीतिक नियोगको सवारीसाधनको हकमा अनुमतिपत्र आवश्यक पर्दैन ।

पत्रकारहरुको हकमा सूचना विभागको कार्डका आधारमा प्रमुख जिल्ला अधिकारीले अनुमतिपत्र जारी गर्नेछन् ।

टिप्पणीहरू