यसपटक डिजिटल माध्यम अपनायौं : निर्वाचन आयोग
निर्वाचन आयोगले यसपटक मतदाता शिक्षा कार्यक्रमलाई डिजिटलाइज गरेको छ । आयोगले सामाजिक सञ्जाल, रेडियो, टेलिभिजनलगायतका माध्यमबाट मतदाता शिक्षा दिने व्यवस्था गरेको हो ।
यसअघिका चुनावमा प्रत्येक वडामा स्वयम्सेवक खटाएर मतदाता शिक्षा दिने प्रबन्ध मिलाएको आयोगले यसपटक भने डिजिटल माध्यमलाई रोजेको हो । तथापि मतदाता शिक्षा कार्यक्रम त्यति प्रभावकारी हुन नसकेको गुनासो अहिले नै सुनिन थालेको छ । विद्युतीय माध्यमको पहुँचबाट टाढा रहेका निरक्षर मतदाता धेरै भएकाले कार्यक्रम प्रभावकारी हुन नसकेको हो ।
खासगरी पहिलो पटक मतदान गर्ने नयाँ मतदातालाई मतदाता शिक्षा बढी आवश्यक पर्ने भए पनि त्यसअनुसार हुन नसक्दा भोट बदर हुने खतरा बढेको भन्दै धेरैले चिन्ता व्यक्त गरेका छन् ।
निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले पनि मतदाता शिक्षा कार्यक्रम सोचेजस्तो प्रभावकारी नभएको स्वीकार गरे । यद्यपि डिजिटल माध्यमबाट गरिएको प्रचार प्रसारले बदर भोटको प्रतिशत घट्ने उनको विश्वास छ ।
टिप्पणीहरू