सडक कालोपत्रे रोक्न स्थानीय प्रहरी र प्रशासन नै सक्रिय

सडक कालोपत्रे रोक्न स्थानीय प्रहरी र प्रशासन नै सक्रिय

अस्वस्थ प्रतिस्पर्धाको कारण विकास निर्माणको कार्य र जनताले पाउनुपर्ने सेवा सुविधाहरु चुनावको समयमा अवरुद्ध हुने गरेका छन् । चुनावी आचारसंहिताले प्रतिबन्ध नगरेका कामहरु पनि रोकतोक गर्न टोले गुण्डादेखि राजनीतिक प्रभाव बोकेका कथित विकासवादी नेताहरु सक्रिय बनेका भेटिन्छन् ।

उनीहरुले विकासको काम रोक्न सत्ताको प्रयोग गर्दै स्थानीय प्रशासन र प्रहरीलाई अप्रत्यक्ष ढंगले प्रयोग गरेको आरोप स्थानीयले लगाएका छन् । स्थानीयका अनुसार उदयपुरको डिएमगेट–लक्ष्मीपुर सडकमा कालोपत्रे भइरहेको समयमा केही दलका कार्यकर्ता र प्रहरी उपस्थित भएर काममा अवरोध पुर्याएका हुन् ।

उनीहरुले लोडर अपरेटरको साँचो खोस्दै काम रोक्न दबाब दिएका हुन् । उनीहरुले ‘काम रोक्छस् कि थाना पुर्याउँ,’ भन्दै मजदुरहरुलाई धम्काएका थिए । सुरक्षा दिनुपर्नेले कुनै पूर्जी नदिइ, कुनै दोहोरो कुराकानी नगरी बलजफ्ती साँचो खोसेर काममा अवरोध गरेकाले काम रोक्न बाध्य भएको कन्ट्रक्सन कम्पनीका प्रतिनिधि गयानन्द चौधरीले जानकारी दिए ।

प्रहरीले काम रोक्न लगाएपछि अहिले कालोपत्रको काम पूर्णरुपमा रोकिएको छ । काम नभएपछि मजदुरहरु घर जान बाध्य भएका छन् । कालोपत्रेका लागि तयार भइसकेका निर्माण सामग्रीहरु त्यतिकै अलपत्र छाडेर मजदुरहरु घर गएका छन् ।

निर्वाचन आचारसंहिता २०७८ को दफा ४ (क), दफा ६ (ग) मा वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएका बाहेकका अन्य नयाँ कार्यक्रम गर्न, नयाँ नीति, योजना वा कार्यक्रम घोषणा गर्न, स्वीकृत गर्न वा सञ्चालन गर्न नहुने व्यवस्था छ । त्रियुगा नगरपालिकामा निर्वाचन आचारसंहिता २०७८ चैत्र २५ गतेदेखि लागू हुनुपूर्व त्रियुगा नगरपालिकाले ठेक्का लगाएर ठेकेदारहरुले धमाधम गर्दै आएको सडक निर्माणको काममा अवरोध गरिएको हो ।

निवर्तमान मेयर बलदेव चौधरीले विकासको जस लिने डरले अन्य प्रतिस्पर्धी दलका नेताहरुले सडक कालोपत्रको कार्यलाई रोक्न लगाएको गुनासो स्थानीयले गरेका छन । लिखित रुपमा उजुरी नदिने तर काममा अवरोध गर्ने नीति लिएका उनीहरुले सडकमा काम गरिरहेका कर्मचारी, मजदुरहरुलाई काम नगर्न ठाडो उर्दी जारी गरेको बताइन्छ ।

उनीहरुले प्रहरी प्रशासनलाई झुक्याएर प्रयोग गरेको बताइन्छ । यसरी अवरोध पुर्याइएका र कालोपत्रेको काम रोकिएका सडकहरु डिएमगेटदेखि लक्ष्मीपुर सडक, राधाकृष्ण मन्दिरदेखि जिल्ला अस्पताल बोक्सेसम्मको सडक खण्डको कालोपत्रेको काम र पिपलचोकदेखि गाईघाट दिक्तेल सडक बरुवा पुलसम्मको मर्मतको काम हुन् ।

यसबारे जिल्ला प्रहरी प्रमुख सुवासचन्द्र बोहोराले प्रहरीले नबुझेर अवरोध गरेको हुनसक्ने बताए । उनले साइटमा कागजपत्र हेरेपछि काम गर्न कुनै अवरोध नभएको जानकारी दिए । नियमसंगत भएको र आचारसंहिताले नरोकेको काम गर्न छुट भएको तर आचारसंहिता उल्लघंन हुने काम भए त्यसलाई तत्काल रोकिने बताए ।

गत शुक्रबार पिचको काम भइरहेकोमा प्रहरीले अवरोध गरेपछि शनिबार त्रियुगा नगरपालिकाको समन्वयमा इञ्जिनियर निर्मल चौधरीले निर्माण कार्य अघि बढाएका थिए । तर प्रहरीले दोहोर्याएर अवरोध गरेपछि काम बन्द गरेर मजदुरहरु घर गएको जानकारी कम्पनीले दिएको छ ।

प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले निर्वाचन आचारसंहिता लागू हुनुभन्दा अघिको कुनै पनि काम गर्नमा रोक नलगाएको दाबी गरे । उनले पनि घुमाउरो ढंगले डिएमगेट लक्ष्मीपुर सडक कालोपत्रे भइरहेकोबारे आपूmलाई तालुकदार निकायले केही जानकारी नदिएको बताए ।

 

टिप्पणीहरू