ओलीले काँग्रेसको ब्याज खाएको दाबी

ओलीले काँग्रेसको ब्याज खाएको दाबी

सत्तारुढ नेपाली कांग्रेसले प्रतिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीमाथि लगाएका आरोपको खण्डन गरेको छ । आज पत्रकार सम्मेलन गर्दै प्रवक्ता डा. प्रकाशशरण महतले ओलीले हिजो कांग्रेसमाथि लगाएका आरोपको खण्डनसहितको एक-एकको जवाफ दिनुभएको हो ।

कांग्रेसले अघि सारेको नीति तथा कार्यक्रमको ब्याजसमेत खाइरहेको एमालेले कांग्रेसलाई नै आरोपित गर्नुको कुनै अर्थ नरहने महतले बताउनुभयो ।

हिजो पत्रकार सम्मेलन गरेर ओलीले नेपाली कांग्रेस कुनै नीति नै नभएको पार्टी भएकाले उसलाई भोट नदिन मतदाताहरुलाई आग्रह गर्नुभएको थियो । त्यसको खण्डन गर्दै प्रवक्ता महतले भन्नुभयो, ‘सामुदायिक वनको अवधारणा ल्याएर नांगो भइसकेको पहाडलाई फेरि हराभरा बनाउने पार्टी कांग्रेस हो । नेपाली कांग्रेसले जुन नीति र कार्यक्रम देशमा कार्यान्वयन गर्‍यो, त्यसको ब्याज साँवासहित खाने पार्टी एमाले हो । झूठो आरोपको पुलिन्दा ओलीजीले लगाउनुभएको छ ।’

नेपाली कांग्रेसले ल्याएको आर्थिक उदारीकणको नीतिअनुसार नै निजी उद्योग व्यवसाय फस्टाएको महतको दाबी छ । ‘नेपाली कांग्रेसले जुन आर्थिक उदारीकरणको नीति लियो, जताततै निजी उद्योग व्यवसायहरू फस्टाउन थाले,’ उहाँले भन्नुभयो, ‘उहाँ चाहीँ बासँबारी छाला जुत्ता कारखानाको उदाहरण दिनुहुन्छ । त्यसको ठाउँमा त संयौ छाला जुत्ता कारखाना खुलेको त बिर्सिनुभयो । एउटा उदाहरण उहाँ दिइराख्नुहुन्छ । र त्यो ठाउँमा गंगालाल हृदय रोग केन्द्र स्थापना भएको उहाँले बिर्सिनुभयो ।’

नेकपा एमालेलाई कांग्रेसको विरोध गर्ने कुनै आधार नै नभएको पनि उहाँले बताउनुभयो । ‘उहाँहरूलाई नेपाली कांग्रेसको विरोध गर्ने कुनै आधार छैन । जहिले पनि विकास भनेको नयाँ प्रविधि, नयाँ फड्को मार्ने हो,’ महतले भन्नुभयो ।

टिप्पणीहरू