मुगुमा ११ सयबढी सुरक्षाकर्मी परिचालित

मुगुमा ११ सयबढी सुरक्षाकर्मी परिचालित

हिमाली जिल्ला मुगुमा स्थानीय तह निर्वाचन सुरक्षाका लागि एक हजार एक सय ६५ सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्ला सुरक्षा समितिले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दे आवश्यक सुरक्षाकर्मी परिचालन गरेको हो ।

निर्वाचन सुरक्षाका लागि दुई सय ९८ जना नेपाल प्रहरी, २ सय ५० जना नेपाली सेना, एक सय ६० जना सशस्त्र प्रहरी र चार सय ५७ जना म्यादी प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।

निर्वाचन गतिविधि सुरु भएको क्षेत्रमा आवश्यक सुरक्षाको निम्ति जनशक्ति खटिइसकेको र निर्वाचन सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र र तेस्रोमा नेपाली सेना रहने छ । निर्वाचनको सुरक्षा चुनौती आकलन गर्दै चारैवटा सुरक्षा निकायले आ–आफ्नो तयारी तीव्र पारेका छन् ।

निर्वाचन निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गराउन एकीकृत तथा छुट्टाछुट्टै रणनीतिक सुरक्षा योजना निर्माण गरी संयन्त्र परिचालन भएको छ । त्यसैले सुरक्षा संयन्त्रले विगतका अनुभव र वर्तमान अवस्थाको आधारलाईसमेत विश्लेषण गरेर सुरक्षा रणनीति निर्माण गरेको हो ।

नेपाली सेनाको श्री बक्स गुल्मका मेजर झलक लामाका अनुसार मुगुका चार वटै स्थानीय तहमा नेपाली सेना परिचालन गरिएको छ ।

टिप्पणीहरू