गृह मन्त्रालयको पछिल्लो चेतावनी झन् कडा
गृह मन्त्रालयले निर्वाचनविरोधी गतिविधि गर्ने, समाजमा शान्ति र सहिष्णुता बिथोल्न खोज्नेलाई कानूनअनुसार कारबाही गर्ने चेतावनी दिएको छ । मतदातालाई स्वतन्त्र रुपमा आफ्ना प्रतिनिधि छनौट गर्ने अवसरलाई प्रभावित पार्ने जो कोहीलाई पनि कारबाही गर्ने चेतावनी दिइएको हो ।
गृहले विज्ञप्ति जारी गर्दै केही राजनैतिक दल, तिनका उम्मेदवारहरुले निर्वाचनको प्रचारप्रसारको नाममा आपसी द्वन्द्व, विवाद तथा झैझगडाका छिटपुट घटनाहरु हुने गरेको जनाएको छ । त्यस्तै, निर्वाचन आचारसंहिता विपरीतका कार्यहरु पनि भइरहेको सूचनासमेत प्राप्त भएको जनाएको छ ।
निर्वाचनको बहानामा कानून विपरीतका गतिविधिमा संलग्न हुने र कानून हातमा लिने छुट कसैलाई नभएको स्मरण विज्ञप्तिमा गराइएको छ । साथै, त्यस्ता गतिविधिको सुरक्षा निकायबाट सूक्ष्म निगरानी भइरहेको जनाउ दिइएको हो ।
‘निर्वाचनको बहानामा कानूनविपरीतका गतिविधिमा संलग्न हुने र कानून हातमा लिने छुट कसैलाई पनि नभएको र त्यस्ता गतिविधिको सुरक्षा निकायबाट सूक्ष्म निगरानी भइरहेको छ’ विज्ञप्तिमा भनिएको छ ।
निर्वाचनलाई शान्त, स्वतन्त्र, निष्पक्ष, धाँधली र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सक्दो सहयोग गर्न गृह मन्त्रालयले सबैलाई आग्रह गरेको छ । यस पटकको स्थानीय तहको चुनावमा मुलुकभर करिब दुई लाख ६० हजार सुरक्षाकर्मी र करीब तीन लाख कर्मचारी परिचालन गरिएको छ ।
वैशाख ३० गतेको स्थानीय तह निर्वाचन एकै चरणमा सम्पन्न हुन लागेको हो ।
टिप्पणीहरू