निर्वाचन आयोगले दिन थाल्यो दिनदिनै निर्देशन

निर्वाचन आयोगले दिन थाल्यो दिनदिनै निर्देशन

निर्वाचन आयोगले स्थानीय प्रशासन र सुरक्षा निकायलाई नौ बुँदे निर्देशन दिएको छ । स्थानीय तहको चुनावलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन आयोगले गृह मन्त्रालयमार्फत निर्देशन दिएको हो ।

आयोगको नौ बुँदे निर्देशनमा आचारसंहिता तथा मौन अवधिको पूर्ण पालना भए–नभएको हेर्न आग्रह गरिएको छ । दलको झण्डा, चुनाव चिन्ह तथा गाडी प्रयोग भएको छ वा छैन हेर्न र प्रयोग भए निर्वाचन अधिकृतको कार्यालयमा खबर गर्न समेत भनिएको छ ।

त्यसैगरी, झण्डा, चिन्ह र प्रचार सामग्री प्रयोग भए जफत गर्न, सवारी साधनको प्रयोग गरी र्याली गरिएको पाइएमा त्यस्ता सवारी साधन कब्जामा लिन, निर्वाचन प्रचार प्रसारका लागि डिजिटल बोर्ड, फ्लेक्स बोर्ड, साउण्ड सिस्टम, लाउड स्पिकर जस्ता श्रव्य सामग्री प्रयोग भए कब्जामा लिन, मतदातालाई प्रभावित पार्नेलाई नियन्त्रणमा लिन आयोगले निर्देशन दिएको छ ।

मतदानका दिन मतदातालाई सुरक्षित रुपमा मतदान केन्द्रसम्म पुग्न र मतदान केन्द्रबाट फर्किनसक्ने वातावरण निर्माण गर्नुपर्ने भएकाले मतदातालाई कुनै पनि प्रकारको अवरोध हुन नदिन आवश्यक व्यवस्था मिलाउन पनि भनेको छ । मतदान कार्य समाप्त हुनासाथ मतपेटिका सुरक्षित तवरले निर्वाचन अधिकृतको कार्यालयसम्म ल्याउने जिम्मा पनि स्थानीय प्रशासन र सुरक्षा निकायलाई दिइएको छ ।

टिप्पणीहरू