नेता पनि मान्छे नै हो त नि यार ?

नेता पनि मान्छे नै हो त नि यार ?

– दीपक खनाल

‘नेता’ कुनै राजनीतिक दल वा जनसमुदायलाई असल बाटो देखाउने व्यक्ति, कुनै समाजमा नेतृत्व दिन सक्ने व्यक्ति, अगुवा, नाइके हो । ‘कार्यकर्ता’ खास उद्देश्य वा कारणले काम गर्ने व्यक्ति, कर्मी, कर्मचारी, श्रमिक तथा जिल्ला गाउँ–गाउँ घुमेर राजनीतिक, सामाजिक आदि सिद्धान्तको प्रचारप्रसार गर्ने व्यक्ति हो । ‘जनता’ कुनै देशमा बस्ने मानवहरूको समष्टि, मान्छेको समूह, जनसमूह, लोक हो, (नेपाली बृहत् शब्दकोश, ११ औँँ संस्करण, नेपाल प्रज्ञा प्रतिष्ठान) ।

अर्थात् नेतालाई कुनै सवारी साधनको चालक वा विमानको पाइलट मान्दा कार्यकर्ता त्यो साधनका सहचालक वा परिचारिका र जनता यात्रु हुन् । गाडी हाँक्ने वा विमान उडाउने निश्चित नियम, सूत्र भए पनि त्यसलाई कहाँ, कसरी, कुन अनुशासनमा रहेर गुडाउने, उडाउने भन्ने कुरा चालक, पाइलटको सोचमा भर पर्छ । यस्तै चालक, पाइलटलाई सहयोग गरेर सफल बनाउनमा सहचालक, परिचारिकको हात रहन्छ । भवितव्यबाहेक सवारी साधन वा विमान दुर्घटनामा पार्ने नपार्ने कुरा चालक वा पाइलटको दिमागमा हुन्छ । यसरी नै देशलाई एउटा साधन वा विमान मान्ने हो भने नेता त्यसको चालक वा पाइलट हो । देशलाई कसरी अघि बढाउने भन्ने कुरा चालक वा पाइलट नेताको सोचमा निर्भर हुन्छ भने नेतालाई कसरी सहयोग गर्ने, कस्तो बनाउने भन्ने महत्वपूर्ण भूमिका कार्यकर्ता र जनताको रहन्छ ।

अक्सर हामीकहाँ नेता भन्नासाथ राजनीतिक पार्टीको प्रमुखलाई मात्र बुझिन्छ तर विभिन्न संस्था, संगठनको प्रमुख भूमिकाको जिम्मेवारी लिने व्यक्ति पनि नेता नै हो । घरमूली घरको नेता हो भने प्रधानमन्त्री देशको शासन हाँक्ने प्रमुख नेता । विभिन्न मन्त्री तिनीहरूले हाँकेका मन्त्रालयका नेता हुन् । मुख्यसचिव देशको प्रशासन हाँक्ने प्रमुख नेता हो । सचिवहरू अन्य मन्त्रालयका नेता हुन् । प्रधानन्यायाधीश अदालतको नेता हो । प्रधानसेनापति समग्र सेनाको नेता हो । आइजिपी प्रहरीहरूको नेता हो । विभिन्न सरकारी, गैरसरकारी संस्था, संगठनका प्रमुख ती संस्था, संगठनका नेता हुन् ।

जस्तैः कुनै समाचारमाध्यमको प्रधानसम्पादक त्यसको नेता हो । आफ्नो माध्यमबाट कसरी निष्पक्ष, सन्तुलित, मर्यादित, जिम्मेवारपूर्ण समाचार सम्प्रेषण गर्ने भन्ने कुरा उसैको विवेकमा भर पर्छ । आदि आदि । त्यसैले यी क्षेत्रका प्रमुखहरू नै लोभपाप, व्यभिचार, पापाचार, दुराचार, अनाचार, बाह्य भित्री प्रभाव र दबाबमा नपरी निर्णय गर्ने र त्यसको कार्यान्वयनमा इमान्दार र जिम्मेवार बनिदिने हो भने तत्तत् क्षेत्रमा विकृति, विसंगति नै जन्मँदैन, जन्मिहाले पनि त्यसले मौलाउने मौका पाउँदैन ।

जस्तो कि प्रधानमन्त्री नै ठीक भइदिने हो भने मन्त्रीहरू गलत बाटो लाग्नै सक्दैनन् । मन्त्रीहरू ठीक भए सचिवहरू ठीक हुन्छन् । मुख्य सचिव भ्रष्टाचारी नभइदिने हो भने सचिवहरूले एक रुपियाँ घुस, कमिसन खाने आँट नै गर्न सक्दैनन् । सचिव नै सुशासनमा अडिग हुने हो भने गलत नियत राख्ने ऊपछिका कर्मचारीको सातोपुत्लो उड्छ । हरेक क्षेत्रका फस्र्ट म्यान ठीक भइदिए त्यहाँ कि कुशासन नै हुँदैन, भए पनि टिक्न पाउँदैन ।

यही र यस्तै प्रश्न आमजनता र विभिन्न क्षेत्रमा आवद्ध नागरिकतिर पनि तेस्र्याउनुपर्ने हुन्छ । किनकि हामी ठीक भए न हामीलाई नेतृत्व गर्नेहरू ठीक हुने हुन् । हामीले अनावश्यक र गलत कार्यका लागि दबाब र प्रभावमा नपारे न नेताहरू सही बाटोमा हिँड्ने हुन् ! हो, नेता असल बाटो देखाउने अगुवा हो तर कहिलेकाहीँ हाम्रै कुव्यवहार र कुप्रवृत्तिका कारण उसलाई फटाहा, धोकेबाज बन्ने नकारात्मक प्रेरणा मिल्दछ । नेपालमा अहिलेसम्म भइरहेको यही हो । सबैले मःमः भन्दै केही प्रश्न केलाऔँ त मथिंगलमा ।

के नेतालाई हामीलाई जस्तै आफ्ना छोराछोरी राम्रा बनाउन, विशिष्ट ठाउँमा पढाउन मन लाग्दैन र ? आफ्ना आफन्त, नातापातालाई जागीर लगाइदिन मन लाग्दैन र ? हामी आ, आफ्नो ठाउँमा ठीक, इमान्दार छौँ त ? मास्टर साब तपाईंंले राम्ररी पढाउनुभएको छ ? तपाईंं सरकारी विद्यालयमा लख्¥याकलुख्रुक पढाएर छुट्टै ठाउँमा ट्युसन, कोचिङ पढाउनुहुन्छ कि हुँदैन ? तपाईंं सरकारी स्कुलमा झारा टार्नुहुन्छ, बोर्डिङमा ज्यान फालेर पढाउनुहुन्छ हैन ? डाक्टर साब, तपाईंं आफ्नो पेशामा इमान्दार हुनुहुन्छ त ? तपाईंंले सरकारी अस्पतालमा राम्ररी बिरामी जाँच्ने गर्नुभएको छ त ? सरकारी अस्पतालमा हाजिर गरेर त्यहाँका बिरामी आफ्नो क्लिनिकमा लैजानुभएको छैन त ? तपाईंं निजी अस्पतालमा त्यही बिरामीलाई भगवान ठानेर ढोग्नुहुन्छ, त्यही बिरामीलाई सरकारी अस्पतालमा किन अवहेलना गर्नुुहुन्छ ? सरकारी कर्मचारी महोदय, तपाईंंले आफ्नो कर्तव्य, जिम्मेवारी इमान्दारिताका साथ पूरा गर्नुभएको छ ? तपाईंंले जनताको काम घुस नखाई गरिदिनुभएको छ ?

तपाईंंले जनताको करको दुरुपयोग गर्नुुभएको छ कि छैन ? तपाईंंले शक्ति र पदको आडमा ठेक्कापट्टा, विज्ञापन, प्रोजेक्ट निर्माणमा कमिसन खानुभएको छ कि छैन ? तपाईंंले कागज मिलाएर जनताको करमाथि भ्रष्टाचार गर्नुभएको छ कि छैन ? तपाईंंले पदीय मर्यादाको दुरुपयोग गरेर आफ्नो स्वार्थ पूर्ति गर्नुभएको छ कि छैन ? इञ्जिनियर साब, तपाईंंले बनाएको बाटो, पुल, भवन किन छिट्टै भत्कन्छ, चर्कन्छ ? सम्पादक, पत्रकार महोदय तपाईंंले पत्रकार आचारसंहिता अक्षरशः पालना गर्नुभएको छ ? तपाईंंले स्वच्छ, मर्यादित, जिम्मेवार, तथ्यपरक पत्रकारिता गर्नुभएको छ ? तपाईंंले समाचारलाई विज्ञापनसँग साँट्नुभएको छ कि छैन ? छातीमा हात राखेर भन्न सक्नुहुन्छ, तपाईंंले समाचारको नाममा विदेशी खुफियालाई सूचना बेच्नुभएको छ कि छैन ?

कालोकोटधारी वकिल साब, कानुन व्यावसायी मित्र, तपाईंंले कत्तिको पेशागत मर्यादा कायम राख्नुभएको छ ? तपाईंंले कानुन व्यवसायीको आचारसंहिता पालना गर्नुभएको छ ? आफ्नो क्लाइन्टलाई धोका दिएर मुद्दाको बहस गर्नुभएको छ कि छैन ? कतै प्रतिवादी क्लाइन्टसँग मिलेर दोहोरो फाइदा पो लिनुभएको छ कि ? श्रीमान्, तपाईंंको फैसलामा दूधको दूध पानीको पानी भएको छ त ? तपाईंंले एक रुपियाँ घुस र एकमुठ्ठी भुस नखाइकन फैसला लेख्नु, लेखाउनुभएको छ त ? लेखक, साहित्यकार, कवि कथाकारज्यूहरू, तपाईंंहरूको साहित्यिक कृति र तपाईंं उही र उस्तै व्यक्ति हो त ? तपाईंं मनमा जे छ त्यही लेख्नु, बोल्नुहुन्छ त ? तपाईंंको लेख, कृतिका सन्देश तपाईंंकै जीवनमा लागू गर्नुभएको छ त ? कि दाल, भात, तरकारीका लागि कलम, कापी र मसी सक्ने ढोँगी मात्रै हो तपाईंं ?

समाजका विकृति, विसगंतिप्रति कटाक्ष गर्ने, कलाकार, गायक, नाटककार, चलचित्रकर्मी तपाईंंहरू अभिनयमा मात्रै समाजको दर्पण उतार्ने हो कि आफ्नो जीवन वास्तविक र पारदर्शी रुपमा प्रस्तुत गर्नुहुन्छ ? व्यापार, व्यवसायमा संलग्न पुँजीपति, राष्ट्रिय पुँजीपति वर्ग, तपाईंंहरूले राज्यको कर नछली सही ढंगले मात्रै सम्पत्ति आर्जन गर्नुभएको हो त ? समाजसेवी मित्रहरू, तपाईंंले स्वयंसेवा मात्र गरेर कसरी घरमा चुलो बाल्नुभएको छ त ? समाजसेवा गर्ने पैसो कहाँबाट आउँछ त ? स्कुल, कलेज चलाउने साथी हो, खाई नखाई तपाईंंले भनेजति भर्ना र अन्य विभिन्न शुल्क बुझाउने हुँदाखाने बा–आमाबाट रकम लिएर आफ्नैलागि मात्र घरघडेरी जोड्नुभएको छ कि श्रमिक सर, म्याडमलाई समयमा उचित तलब दिनुभएको छ ? कि श्रमशोषण मात्र गरिरहनुभएको छ ?

म्यानपावर खोलेर दुनियाँका छोराछोरीलाई धोका दिने, विदेश लगेर अलपत्र पार्ने साथीहरू हो, तपाईंंहरूलाई आफ्नै अपराधले भत्भती पोल्दैन कहिल्यै, अनि राजनीतिक नेतालाई मात्रै सत्तोसराप गर्नुहुन्छ ? राष्ट्रसेवक सुरक्षाकर्मीहरू हो, आफ्नो ड्युटी, सेवामा सतप्रतिशत इमान्दार हुनुुहुन्छ ? सैन्य शक्ति र हतियारको दुरुपयोग गरेर निर्धा र निर्दाेषलाई मात्र दुःख दिनुभएको छ कि सही, गलत छुट्याएर समान न्याय दिलाउनुभएको छ ? पुरुष दाजुभाइ, महिला दिदीबहिनी आफ्नो घर, परिवारप्रति बफादार, जिम्मेवार हुनुहुन्छ ?

हो, यदि हामी नै कोही ठीक छैनौँ भने, राजनीतिक पार्टी वा अन्य संगठन, संस्थाका नेतालाई मात्रै गाली गर्न मिल्दैन । हामी पनि उसका श्रीमान्, श्रीमती, छोराछोरी, ज्वाइँ, भाञ्जाभाञ्जी आदि नातापाताका मान्छे हौँला नि ! ऊ पनि कसैको छोरो, श्रीमान्, भाञ्जो, भतिजो, मामा, भिनाजू, जेठान दाइ आदि नाताको मान्छे होला नि ! यसो गरिदे, उसो गरिदे भन्दै घरी घरी फोन हान्ने, करकर गर्ने, गरिदिए मख्ख पर्ने, नगरिदिए धारेहात लगाउने हामीहरू नै हौँला नि ?

हामी नै यस्तो भएपछि टीका लगाएर खुट्टामा ढोग्ने ज्वाइँलाई राजदूत बनाउन नपाउने भन्ने छ र नेताले ? यसो गर्न हुन्न भनेर कुन संविधानमा लेखेको छ र ? छोरी, बहिनीको मायाले पनि पुजेको ज्वाइँलाई राजदूत, मन्त्री बनाउन परेन र ? ज्वाइँको मायाले छोरीलाई मेयर उठाउन परेन ? छोरानातिको दयामायाले बुहारीलाई मन्त्री बनाउन परेन ? नेताको ठाउँमा तपाईंं भएको भए पनि यही गर्नुहुन्थ्यो ।

हाम्रोजस्तै नेताको पनि मुख छ । उसलाई मीठो, मसिनो खान मन लाग्दो होला नि हामीलाई जस्तै । साथीभाइसँग बसेर पिउने इच्छा जाग्दो होला नि हामीलाई झैँ । हाम्रो जस्तै घुम्ने, रंगरस गर्ने चाहना होला नि उसको पनि ! नेता हिँडेर देश दौडाहा गर्न सक्छ, भ्याउँछ ? ऊ चिल्ला गाडी, हेलिकप्टरमा गुड्न, उड्न परेन त ? चुनाव आउँछ खर्चपर्च चाहिन्छ, पैसो उठाउन परेन ? एउटा परिवार पाल्न त कति सकस छ, यत्रो पार्टी चलाउन, कार्यकर्ता पाल्न पैसोको जोहो गर्न परेन त ? नेता मंगल ग्रहको बासिन्दा होइन नि ! ऊ पनि यही समाजको मान्छे हो, सामाजिक हुन परेन ? घर नभए नेता भर नभएको रहेछ भन्ने हामी नै हौँ । चिया खुवाएन भने चिया पनि खुवाएन भन्ने हामी नै हो ।

जागिरमा लाइदिएन भने अब भोट हाल्दिन भन्ने हामी नै हौँ । हो पार्टी, राज्यको शक्ति, सम्पत्ति, साधनस्रोतको दुरुपयोग गरेर यसैको आडमा जथाभावी त गर्न भएन, नत्र त नेता पनि मान्छे हो नि यार, हामीले नै नेताहरूलाई यस्तो बनाएको हो नि ? हामीजस्तो भयो नेता त्यस्तै हुने हो नि ? ऊ भगवान हो र ? आकाशबाट फुत्त हाम्फालेको हो र ? नेता ‘शालिग्राम’ हो र ?, दूधले धोइएको ‘शिवलिंग’ हो र ? राजतन्त्रकालमा भनिने गरेझैँ कहिल्यै गल्ती नगर्ने ‘राजा’ हो र ? त्यसैले हामी सबै ठाउँका नेता, कार्यकर्ता, जनता ठीक भए पो नेतालाई ठीक हुन कर लाग्छ, सधैँ तपाईंं, हाम्रै डर लाग्छ । अनि यस्ता नेता भए देश, समाजलाई सधैँ उसकै भर लाग्छ ।

टिप्पणीहरू