बालुवामा पानी हालेजस्तै बदर मत बढेको बढ्यै

बालुवामा पानी हालेजस्तै बदर मत बढेको बढ्यै

-वैकुण्ठ ढकाल

अवको ९ दिनपछि स्थानीय तह निर्वाचनमा मतदान हुँदैछ । दलका उम्मेदवारहरू मतदाताको घरदैलोमा छन । उम्मेदवारको घरदैलो पहिलो पटक हैन । हरेक निर्वाचनमा तिनले घरघर गएर मत मागिरहेका छन् । हरेक पार्टीका उम्मेदवार भोट माग्न घरघर पुग्छन् । अहिले गाउँघरमा बृद्धबृद्धा र बालबालिका मात्रै छन् । हरेक उम्मेदवारले मेरो चुनाव चिह्नमा मत हाल भन्छन् । एउटा आउँछ, एउटा भोट हाल भन्छ । अर्को आउँछ अर्कोलाई भोट हाल भन्छ । मतदाता द्विविधामा पर्छन् । हरेक उम्मेदवारले आफू ठीक, आफूबाहेक अरु सबै गलत भनिरहेका हुन्छन् । यसले मतदातालाई बडो समस्यामा पारेको हुन्छ ।

स्थानीय निर्वाचनमा दलहरू यो पटक पनि गठबन्धन गरेर गइरहेका छन् । गठबन्धनका कारण कुनै ठाउँमा प्रमुख एउटा दलको र उपप्रमुखमा अर्को दलको हुन्छन् । भोट माग्न जानेहरू भन्छन्– अमुक चिह्नमा सात छाप । यसो भन्नेबित्तिकै कुनै एक पदको मत बदर भएको हुन्छ । यो मात्रै हैन समस्या, नेपालमा ठूलो संख्या छ सूर्यमा भन्दा अन्त कतै मत नहाल्ने । अर्को ठूलो पंक्ति छ रुखमाबाहेक अन्त भोटै नहाल्ने, कोही हँसिया हथौडा वा अर्को पंक्ति हलो भन्दाबाहिर भोट नहाल्ने । अहिले अवस्था त्यस्तो छैन, कहीं सूर्यले चुनाव लडेको छैन, कहिं रुखले चुनाव लडिरहेको छैन । कहीं हँसिया हथौडाले चुनाव लडेको छैन । कारण ः गठबन्धनले साझा उम्मेदवार उठाएको छ । तर सबै ठाउँमा सबै चिह्नमा मत परेको हुन्छ । उम्मेदवार नभएको ठाउँमा मतदान भएपछि त्यो काम नलाग्ने भयो ।

नेपालमा शिक्षित नागरिकको संख्या बढ्दो छ । सूचना–प्रविधिको विकासले फड्को मारेको छ । यसले मतदाता शिक्षालाई सहज बनाएको छ । तर पनि मतपत्र बदरको संख्या घट्न सकेको छैन । निर्वाचन आयोगले सरदर ५ प्रतिशत मत बदर हुने गरेको बताउँछ । २०४८ सालको निर्वाचनमा ३ लाख २ हजार २३, २०५१ को मध्यावधिमा २ लाख ४१ हजार ७१ मत बदर भएको आयोगको तथ्यांक छ । २०५६ सालको संसदीय निर्वाचनमा पनि २ लाख ४४ हजार ९ सय २ मत बदर भएको थियो ।

२०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा बदर मत संख्या झन् बढेको थियो । २०६४ मा प्रत्यक्षतर्फ ५ लाख ६० हजार ११ र २०७० सालमा ४ लाख ७१ हजार ८ सय २६ मत बदर भयो । समानुपातिक निर्वाचनतर्फ पनि बदर मतको संख्या ठूलो छ । पहिलो संविधानसभा निर्वाचनमा ४ लाख ७ हजार ४ सय ६२ र दोस्रोमा ३ लाख १२ हजार ८ सय ४१ मत बदर भएको थियो । २०७४ सालका तीनै तहका निर्वाचनमा पनि बदर मत धेरै छ। स्थानीय निर्वाचनमा ३.१८ प्रतिशत बदर भयो । प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फ करिब ३ प्रतिशत बदर भएको आयोगको तथ्यांक छ ।

तीनै तहको निर्वाचनमा २६ लाख १० हजार ९ सय ६८ मत बदर भएको थियो । प्रतिनिधिसभामा समानुपातिकतर्फ १ करोड ५ लाख ८७ हजार ५ सय २१ मतदान भएको थियो । जसमा ९५ लाख ४४ हजार ७ सय ४४ मत सदर र १० लाख ४२ हजार ७ सय ७७ मत बदर भएको थियो । त्यो खसेको मतको ९.८४ प्रतिशत हो । प्रदेशसभातर्फ ९० लाख १९ हजार ३ सय ३० मत सदर भएको थियो । १५ लाख ६८ हजार १ सय ९१ मत बदर भएको थियो । जुन १४.८१ प्रतिशत थियो ।

दलहरूले ०७४ को स्थानीय निर्वाचनमा गठबन्धन गर्दा पनि धेरै मत बदर भएको पाइयो । काठमाडौं महानगरपालिकाको उपप्रमुख पदमा धेरै मत बदर भएको आयोगको तथ्यांकले देखाउँछ । त्यतिबेला एमाले र राप्रपाबीच गठबन्धन भएको थियो । महानगरपालिका प्रमुखमा एमाले र उपप्रमुखमा राप्रपाका उम्मेदवारलाई सघाउने गठबन्धन बन्यो । तर, एमालेले उम्मेदवारी नै नदिएको उपप्रमुखमा २० हजारभन्दा बढी मत प¥यो । जुन, मत कतै पनि गणना नभई खेर गएको थियो । त्यतिबेला गठबन्धन भएका धेरै स्थानमा यस्तै नतिजा आयो ।

यसो हुुनुको कारण मतादाता शिक्षा प्रभावकारी नहुनु हो । अघिल्लो निर्वाचनमा मतदाता शिक्षाका लागि १ अर्ब ५० करोड रूपैयाँभन्दा बढी खर्च गरे पनि त्यसले बदर मत संख्या घटाउन सकेन । मतदाता शिक्षा प्रभावकारी नहुँदा बदर मत बढ्दै जान थालेको छ । सूचनाको स्रोत बलियो भइरहे पनि विद्युतीय मतदान उपकरणको प्रयोगमा दलहरूको संकुचित सोच र मतपत्रको डिजाइन, रङ र मतदाता शिक्षा प्रभावकारी नहुनु मत बदर हुने कारण हुन् । तीबाहेक पनि मतदाताले स्वस्तिक छापको प्रयोग सही तरिकाले नगर्दा बदर हुन्छ ।

एउटै चुनाव चिह्नमा धेरैपटक स्वस्तिक चिह्नको प्रयोग गर्ने तथा चिह्नको सट्टा औंठाछाप लगाएको, चुनाव चिह्नमा डटपेनको प्रयोग गर्दा पनि मत बदर हुने गरेको छ । निर्वाचन आयोगले २०६४ सालदेखि मतदाता शिक्षाको घरदैलो कार्यक्रम सञ्चालनमा ल्याएको थियो । तर, त्यो प्रभावकारी हुन नसकेपछि यसपटक मतदाता शिक्षा सञ्चालन नै गरिएन । आयोगले यो पटक मतदान केन्द्रमै सूचना केन्द्र राख्ने भएको छ । त्यसका लागि २२ करोड बजेट छुट्याइएको छ । आयोगले वैशाख २९ र ३० गते मतदान केन्द्रमै मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्नेछ ।

तर यत्तिले पुग्नेवाला छैन । मतदाता शिक्षालाई प्रभावकारी बनाउने हो भने दलका कार्यकर्ता बढी सक्रिय हुनु पर्नेछ । अरुलाई हैन आफ्नो पार्टीलाई मत हाल्नका लागि सक्रियता हैन । यसरी मतदान गर्ने भनेर सिकाउनु पर्नेछ । मतदाता शिक्षालाई ‘गम्भीरतापूर्वक‘ लिएका भए गाउँ–गाउँसम्म संरचना भएका राजनीतिक दलले धेरै काम गर्न सक्नेछन् । अझ यो पटक सत्ता गठबन्धनका दलहरूबीचको तालमेलका कारण मतदाता अलमलमा पर्ने निश्चित छ ।

परम्परागत कागजी मतपत्र, ठूलो आकारको मतपत्र, राजनीतिक दल र उम्मेदवारलाई तालिमको अभाव, निर्वाचन शिक्षाको प्रचार–प्रसारको कमीका कारण मतपत्र बदर हुने गरेको छ । मत बदर कम गर्न आधुनिक प्रविधिको प्रयोग गर्नुपर्ने छ । तर सरकारको नेतृत्व गरिहेको नेपाली कांग्रेस चुनिएर प्रतिनिधि आउने महाधिवेशनमा समेत विद्युतीय मेसिनको प्रयोग गराउन चाहँदैन । प्रविधिको प्रयोगमा मतदातालाई अभ्यस्त गराउने र नेतृत्वले पनि प्रविधि प्रयोगमा आँट गर्ने हो बदर मत संख्या घट्न सहयोगी हुनेछ ।

उम्मेदवार वा पार्टी मन नपरे कसैलाई पनि भोट नगर्ने भन्दै ‘नो भोट’ को व्यवस्था मतपत्रमा राख्ने प्रावधानका लागि सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन पनि हुन सकेको छैन । कतिपयले जानाजान मत बदर गराइरहेका छन् । नो भोट गर्ने हो भने मन नलागेको उम्मेदवारलाई भोट नहाल्दा बदर मत कम हुन सक्छ ।

टिप्पणीहरू