ठूला सहरमा अंकमाल, रोल्पा–रुकुममा काटाकाट
यो साता गाउँदेखि शहरसम्म स्थानीय तह निर्वाचनको माहौल तातेर चुलीमा पुगेको छ । काठमाडौं, पोखरा, भरतपुर, वीरगञ्ज, ललितपुर र विराटनगर महानगरलगायत ११ वटा उपमहानगरपालिकामा सत्ता गठबन्धनका शीर्ष नेताहरू कुम जोडेर हिँडेका छन् । प्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष सेनाको एउटै विमानमा उडेर विभिन्न स्थानमा आयोजित गठबन्धनको आमसभालाई सम्बोधन गर्नुभएको छ ।
तर माओवादी प्रभावित र उद्गम क्षेत्र रोल्पा–रुकुम भने पछिल्ला दिनमा रणभूमिमा परिणत भइरहेको छ । रुकुममा अर्थमन्त्री जनार्दन शर्मा र रोल्पामा पूर्वअर्थमन्त्री वर्षमान पुन र पूर्वसभामुख ओनसरी घर्ती आफ्नो गृहपालिकामा गएर बस्नुभएको छ । तर, ती दुवै जिल्लामा नेपाली काँग्रेस र माओवादी केन्द्र फरक कित्तामा उभिएका छन् ।
काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सत्ता स्वार्थ मिलेपनि युद्ध प्रभावित क्षेत्रका कार्यकर्ताहरूबीच कुँडिएको मन मिल्न सकेको छैन । १० वर्षे जनयुद्धबाट छियाछिया भएको काँग्रेसीहरुको मन माओवादीप्रति कहिल्यै नरम हुन नसक्ने उनीहरु हाकाहाकी बताउँछन् । केन्द्रमा काटाकाट देखिएको गठबन्धन र एमालेबीचको सम्बन्धलाई पन्छाएर ती जिल्लामा काँग्रेसले एमालेसँग चुनावी तालमेल गरेको देखिन्छ ।
एमालेसँगको तालमेल र माओवादीसँगको काटाकाटलाई काँग्रेसीहरुले परिस्थितिजन्य अवस्था भनेका हुन् । विगतमा दश वर्षे जनयुद्धको क्रममा माओवादीबाट कुटिएका र मारिएका नेपाली काँग्रेसका कार्यकर्ता र तिनका नयाँ पुस्ताले फेरि उही प्रवृत्तिसँग जुध्न परेको बताएका हुन् । रुकुमका एक जना काँग्रेसी नेताले भने, ‘फेरि उनै माओवादी कार्यकताबाट कुटिन बाध्य भएका छौं । केन्द्रमा खबर गरे पनि माओवादीले चुट्न छाडेको छैन । हामी पनि अब हातमा दही जमाएर बस्ने अवस्थामा छैनौं ।’
युद्धदेखि शान्तिसम्म निरन्तर २६ वर्ष माओवादी आतंकले रोल्पाली काँग्रेसीहरु आजित भएको नेपाली काँग्रेस रोल्पाका सहसचिव सुनिलकुमार वली बताउँछन् ।
टिप्पणीहरू