राजधानीमा काँग्रेसको यो गति…
आज राति १२ बजेदेखि चुनावको मौन अवधि शुरु हुँदैछ । सार्वजनिक कार्यक्रम गरेर भोट माग्ने अन्तिम दिन आज प्रमुख राजनीतिक दलहरुले विभिन्न ठाउँमा आमसभा राखेका छन् । तर, नेपाली काँग्रेसको चन्द्रागिरि नगर कमिटीले वैशाख ३० गतेको चुनावका लागि यहि वर्षको आगामी चैत २७ गते आमसभा गर्ने भएको छ ।
नगर समितका सचिवद्वय नविन महर्जन र राजेन्द्र महर्जनद्वारा हस्ताक्षरित वैशाख २५ गतेको मितिमा सार्वजनिक गरिएको सूचनामा २०७९ सालको चैत २७ गते आमसभा हुने व्यहोरा उल्लेख छ । सूचनामा मिति मात्र गलत छैन समय पनि बिहानको ८ बजे हुनुपर्नेमा ‘दिउँसो ठिक ८ बजे’ भनेर लेखिएको छ । पत्रमा २५ गते लेखिए पनि हस्ताक्षरको मुन्तिर वैशाख १५ गते उल्लेख छ ।
सूचनामा नगर समितिले आयोजना गर्न लागेको आमसभामा वडा नम्बर १ देखि १५ सम्मका सबैलाई गुर्जुधाराको भेइकल एकेडेमीमा बिहान ७ बजे जम्मा भइसक्न भनिएको छ । त्यसपछि पदयात्रासहितको जुलुस सतुङ्गलको लागि बुद्ध मन्दिरमा पुगेर आमसभामा मिसिने भन्दै तोकिएको मिति, समय र स्थानमा सहभागी हुन आग्रह गरिएको छ । जहाँ २०७९ साल वैशाख २७ गते हुनुपर्नेमा चैत २७ गते भनिएको छ भने बिहान ८ बजेको ठाउँमा दिउँसो ८ बजे भनेर बोलाइएको छ ।
संघीय राजधानीसमेत रहेको काठमाडौँ प्रवेशको मुख्यद्वार रहेको चन्द्रागिरिका काँग्रेस नेताहरुले गरेको यस्तो त्रुटीले समाजिक सञ्जालमा काँग्रेसमाथि नै व्यङ्ग्य गरिएको छ । कतिपयले चुनाव सम्पन्न भएको ११ महिनापछि आमसभा गर्न लागेको भनेर उल्याएका छन् ।
यसले पटक–पटक सत्तामा पुगेको मुलुककै जेठो राजनीतिक दलको व्यवस्थापकीय क्षमतामाथि समेत प्रश्न उठाएको छ ।
टिप्पणीहरू