भंगैभंगको चुनावी तरंग
चुनावी महिना वैशाखमा मकवानपुरको राजनीति उथलपुथल नै बन्यो । एकपछि अर्काे घटनाक्रमले मकवानपुर चर्चित रह्यो । राजनीतिक घाउको दुखाई बढी हुँदा कतिपय नेता चुनाव आउन १० दिन मात्रै बाँकी हुँदासम्म मर्माहतै देखिएका छन् ।
मकवानपुरे कम्युनिष्ट आन्दोलनमा लामो समय योगदान गरेका तर संसदीय अभ्यासमा सरिक हुने अवसरबाट वञ्चित बनाइएका नेकपा एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पोखरलले अकस्मात् पार्टी त्यागेको खबरले सबैभन्दा बढी समाजवादीलाई मर्माहत बनायो । पार्टी त्यागेको मात्र नभई तीन दिनपछि अर्थात् वैशाख १८ गते मे दिवसको कार्यक्रम र चुनावी सभामा आउँदै गरेका एमाले अध्यक्ष केपी ओलीको हातबाट टीका लाउने अनुमान गरिएका पोखरेल हतार हतारमै त्यसअघि नै बालकोट पुगेर होलीको हातको टीका लगाउँदै एमालेमा बने ।
उनी एमालेमै फर्कनुका अन्य कुनै कारण छैन । अचेल एमालेले उनलाई भरपुर चुनावी ‘टास्क’ का रुपमा प्रयोग गरिरहेको छ । तर, सार कुरा हेटौँडा उपमहानगरको मेयरमा उम्मेदवार सिफारिस भएका पोखरेलको ठाउँमा पार्टीका उपाध्यक्ष एवं उपमेयर मीना लामाको आगमन नै उनका लागि असह्य भयो । उम्मेदवार सिफारिस पोखरेललाई उनीनिकट एमालेजनले समेत बधाई दिँदै हेटौँडाको मेयरको रुपमा स्वीकार गरेका थिए ।
तर, केन्द्रीय नेतृत्वले लामालाई महिला, जनजाति र अनुभवी उम्मेदवारको रूपमा चुनेपछि पोखरेल मर्माहत भए । एमालेमा रहँदा स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं समाजवादी स्थायी कमिटी सदस्य विरोध खतिवडाको पक्षधर मानिएका पोखरेल एमालेको नवाैँ महाधिवेशनमा खुंखार ओली पक्षधर भएर निस्किएका थिए । पछि संसद् भंग गरेपछि व्यक्तिवादी मात्र नभई सैद्धान्तिक र कानुनी हिसाबमै ओली ठीक नभएको दर्जनौँ अभिव्यक्तिसहित पोखरेल प्रचण्ड–माधव खेमामा उभिएका थिए ।
राजनीतिक विश्लेषकहरू पोखरेलको एमालेमा आत्मसमर्पणलाई राजनीतिक रुपमा स्खलनको संज्ञा दिएका छन् । भागबन्डामा अवसर नआए पनि उनी चुनावअघि स्वतन्त्रै बसेको भए उनीप्रतिको सम्मान अझ बढ्ने उनीहरूको तर्क छ । त्यसो त पोखरेलले मेयरको अवसर पाएका भए लामा पनि बिच्केर पार्टीलाई ठूलो क्षति पु¥याउन सक्ने अनुमान पनि नभएका होइनन् । पोखरेलको पार्टी त्याग काण्डमा स्वास्थ्य तथा जनसंख्या मन्त्री खतिवडा, प्रदेश सांसद मुनु सिग्देलहरुसँग तीव्र असन्तुष्टि जोडिएको बताइएको छ ।
यता, लामालाई मेयरको रुपमा अघि सार्नमा कांग्रेसकै संस्थापन पक्ष अघि बढेको हल्ला पनि कांग्रेसभित्र व्यापक छ । कांग्रेसका शक्तिशाली नेता इन्द्रबहादुर बानियाँले आफूभन्दा फरक धारका आनन्दराम पराजुलीलाई मेयर नबनाउनका लागि समाजवादीलाई अघि बढ्ने उक्साएको आरोप छ । पराजुलीले २०७४ को स्थानीय तह निर्वाचनमा एमालेका हरिबहादुर महतको भन्दा ६१५ मत कम ल्याएर हारेका थिए । यसपटक कांग्रेसको राम्रो अवसर र माहोल हुँदा पनि समाजवादीले अबसर पाएपछि कांग्रेसमा विद्रोह, तालाबन्दी र अमान्य निर्णय गरिए पनि अन्ततः सरकारी गठबन्धन लयमा फर्किंदै छ ।
दुर्भाग्य त के हो भने हेटौँडाको एउटा मेयर पाएपछि समाजवादीले मकवानपुरका बाँकी ९ वटै पालिकामा अवसर पाएको छैन । इन्द्रसरोवरमा समाजवादीका अध्यक्ष जीवन लामालाई नै दोहो¥याउने गठबन्धनको निर्णय पनि कांग्रेसले उल्लंघन गरी छुट्टै उम्मेदवारी दिएको छ । मकवानपुरको सबैभन्दा राम्रो पकड भएको मनहरी गाउँपालिकामा पनि कांग्रेस र माओवादी गठबन्धन भएपछि समाजवादी एकल रूपमा अघि बढेको छ । राक्सिराङ, कैलाश, भीमफेदी, बकैया सबैतिर समाजवादी एक्लिएको अवस्था छ ।
उता, नेकपा एमालेमा २०७० मा संविधानसभामा विजयी अनन्त पौडेल हेटौँडाको मेयरमा अघि सारिएका छन् । समाजवादीबाट श्रीधर पोखरेल थपिएपछि एमालेमा उत्साह थपिएसँगै बैशाख १८ गते केपी ओली हुप्रचौरमा पुगेर स्वास्थ्यमन्त्री खतिवडाविरुद्ध विषवमन गरेर फर्कनु भएको छ । जति उत्साह थपिए पनि क्रमभंग गर्दै अप्रत्यासित रूपमा राप्रपाबाट दीपकबहादुर सिंह हेटौँडाको मेयरमा आएपछि त्यसको प्रत्यक्ष असर एमालेलाई नै परेको देखिन्छ ।
सिंह त्यस्ता व्यक्ति हुन्, जो निरन्तर मकवानपुरमा संसदीय चुनावमा सहभागिता जनाइरहेका छन् । आर्थिक हिसाबले मजबुत रहेका सिंहको कार्यकर्ता परिचालन लोभलाग्दो हुने गरेको छ । उनी संसदीय चुनावमा तत्कालीन अवस्थामा एमालेका खतिवडालाई पनि आच्छु आच्छु पार्ने नेता हुन् । यसअघि राप्रपाका सोझा, इमान्दार नेता नवराज विष्ट मेयरमा आउने भनिए पनि सिंहको प्रवेशले मकवानपुरे राजनीति थप खैलाबैला बनाएको छ ।
जिल्लाभरका १०२ वडामै गठबन्धन गर्ने भनिए पनि त्यसो भएको छैन । कतिपय स्थानमा गठबन्धन मजबुत नहुँदा एमाले उत्साही भएर अघि बढेको पाइएको छ । विगतमा हेटौँडा उपमहानगर, भीमफेदी र थाहा नगरमा भएको कांग्रेस–माओवादी गठबन्धनका क्रममा पनि थाहा नगरपालिकामा मात्रै सफलता हासिल भएको अनुभव कांग्रेस–माओवादीसँग छ । यसपटक एमालेबाट छुटिएको समाजवादी समेत मिसिँदा जित हासिल गर्ने सहज अनुमान गरिए पनि समाजवादी हेटौँडाबाहेक अन्यत्र एक्लै चुनावमा जानुपर्ने भएपछि गठबन्धनमा फेरि शंका छ ।
टिप्पणीहरू