शेरबहादुरले यसअघि पदमा रहँदा मनपरी गरेको खुलासा
वडाध्यक्षमा दोस्रो कार्यकाल दोहोरिन लागेका पाँचथरको फिदिम नगरपालिका–८ का एमाले उम्मेदवार शेरबहादुर नेम्वाङले एकै व्यक्तिलाई दोहोरो नागरिकता दिन सिफारिस गरेको खुलेको छ । नेम्वाङले गाउँकै खेमराज गुरुङलाई दोहोरो नागरिकता दिन सिफारिस गरेको पाइएको हो ।
जिल्ला प्रशासन कार्यालय पाँचथरका अनुसार गुरुङ राहदानी बनाउन आएका बेला उनको ‘फिङ्गर प्रिन्ट’ मिलेको थियो । त्यसपछि अनुसन्धानको क्रममा नागरिकताका लागि नेम्वाङले दोहोरो सिफारिस गरेको र त्यसैका आधारमा जिल्ला प्रशासन कार्यालयबाट नागरिकता जारी भएको पुष्टि भएको हो ।
कार्यालयको ढड्डामा उल्लेख भएको विवरणअनुसार २०७२ चैत १ गते गुरुङले नागरिकता लिएको देखिन्छ । उक्त नागरिकतामा उनको जन्म मिति २०५५ माघ २० गते लेखिएको छ । तर, फेरि नेम्वाङले नाम र जन्ममिति परिवर्तन गरेर अर्को नागरिकता दिलाउन सिफारिस गरेका हुन् ।
नेम्वाङले गरेको सिफारिसअनुसार गुरुङले २०७८ माघ २८ गते सुरेश गुरुङको नामबाट नागरिकता लिएका हुन् । उक्त मितिमा जारी नागरिकतामा उनको जन्ममिति २०५९ माघ ५ गते उल्लेख छ । दोस्रो पटक नागरिकता लिँदाको नागरिकता नम्बर २–०१–७८–०४१८७ रहेको छ ।
दोहोरो नागरिकता दिन सिफारिस गरेका नेम्वाङले भुलवश सिफारिस गरेको बताएका छन् । यसअघि वडाध्यक्ष निर्वाचित हुनु पहिले गुरुङले नागरिकता बनाइसकेको तर आफूलाई त्यसबारे थाहा नभएको पनि बताए । उनले भनेका छन्, ‘पहिले नागरिकता लिएको मलाई थाहा थिएन । भुलवश सिफारिस गरेको रहेछु ।’
नागरिकतामा गुरुङको बाबुको नाम रमेश गुरुङ र आमाको नाम पदममाया गुरुङ लेखिएको छ । कुनै व्यक्तिले गलत विवरण बुझाएर नागरिकता लिन र दिन कानुनतः मिल्दैन । जुन दण्डनीय छ । तर, नेम्वाङलाई भने कानुनी दायरमा ल्याउन प्रशासन मौन देखिएको छ ।
टिप्पणीहरू