अर्थमन्त्रीको जिल्लामै माओवादी अध्यक्ष पक्राउ
नेकपा माओवादी केन्द्र त्रिवेणी गाउँ कमिटी रुकुम पश्चिमका अध्यक्ष गणेशबहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको छ । खड्कालाई आज बिहान पक्राउ गरेर जिल्ला सदरमुकाम ल्याइएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
गत बिहीबारका दिन त्रिवेणी गाउँपालिका वडा नम्बर ९ स्थित नुवाकोट प्रहरी चौकी माओवादी कार्यकर्ताले तोडफोड गरेको आरोपमा उनलाई पक्राउ गरिएको बताइएको छ । जिल्ला प्रहरी कार्यालयले प्रहरी चौकी तोडफोड भएको विषयमा सोधपुछको लागि ल्याइएको जानकारी दिएको हो ।
नेपाली काँग्रेसका कार्यकर्तासँग झडप भएको र काँग्रेसी कार्यकर्ताहरु ज्यान जोगाउन प्रहरी चौकी पुगेको बेलामा माओवादी कार्यकर्ताले प्रहरी चौकी नै तोडफोड गरेर काँग्रेस कार्यकर्ता कुटपिट गरेको आरोप प्रहरीको छ ।
प्रहरी कार्यालयमा भएको क्षतिको विवरण भने प्रहरीले दिएको छैन । चौकीको छत भत्काएको, सोलार सेट तोडफोड गरिएको, झ्याल ढोका तोडफोड भएको देखिन्छ । यस विषयमा गृह मन्त्रालयले प्रदेश कार्यालयबाट अनुगमन टोली समेत खटाएर अनुगमन गरिसकेको छ ।
कुटपिटमा आठ जना काँग्रेस कार्यकर्ता घाइते भएका थिए । काँग्रेसका अनुसार सोही दिन माओवादी कार्यकर्ताले स्थानीय तह निर्वाचनअन्तर्गत नेपाली काँग्रेसको तर्फबाट गाउँपालिकाको अध्यक्षका उम्मेदवार रहेका अमरसिंह खड्काले प्रयोग गरेको रा. १ च १२६२ नम्बरको जीपसमेत तोडफोड गरेका थिए । साथै त्रिवेणी गाउँपालिका ५ मा आयोजित चुनावी सभास्थलमा आगजनी गरेका थिए ।
२१ गते बेलुकी काँग्रेसका कार्यकर्ताले मोटरसाइकल तोडफोड गरेको, चुनावी पर्चा र झण्डा फालेको भन्दै माओवादी कार्यकर्ता आक्रोशित भएर भोलिपल्ट काँग्रेस कार्यकर्तामाथि जाइलागेका थिए । काँग्रेस कार्यकर्ताले स्थानीय माओवादी कार्यकर्ताको बारीको केरा काटेको, घरमा आगो लगाइदिएको माओवादीको आरोप छ ।
टिप्पणीहरू