चुनाव : कसैलाई खातैखात,प्रहरीलाई रित्तो हात
सामान्यतयाः सरकारी कर्मचारीलाई काजमा खटाउँदा पत्रसँगै तोकिएको भत्ता रकम उपलब्ध गराइन्छ । पहिले हातैमा नगद दिइन्थ्यो भने हिजोआज सम्बन्धित कर्मचारीको बैंक खातामा जम्मा गर्ने प्रचलन पनि बढेको छ ।
आगामी शुक्रवार हुने सात सय ५३ स्थानीय तहको निर्वाचनमा कर्मचारीबाहेक चार वटै निकायका लाखौं सुरक्षाकर्मीलाई सम्बन्धित क्षेत्रमा खटाइसकिएको छ । कतिपयलाई स्थानविशेषको वस्तुस्थिति हेरेर जगेडा फोर्सको रुपमा पनि तोकिएको ठाउँमा राखिएको छ ।
सोही क्रममा नेपाल प्रहरीको प्रधान कार्यालयले निर्वाचनमा थप मद्दतको लागि केही सुरक्षाकर्मीलाई विराटनगरमा काज पठाएको छ । उनीहरु वैशाख २३ गतेको पत्रानुसार त्यसतर्फ गएका हुन् ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीकी प्रहरी निरीक्षक निशा चौधरीको नेतृत्वमा टोली त्यसैदिन त्यसतर्फ गएको हो । पत्रमा उनलाई आफू मातहत तोकिएका प्रहरी कर्मचारीहरुलाई लिएर प्रदेश सशस्त्र प्रहरी गण विराटनगरमा काजमा जान र खटिएको स्थानमा अनिवार्य रुपमा प्रतिवेदन गरी सोको जानकारी यथासम्भव छिटो प्रधान कार्यालयको प्रशासन शाखामा जाहेर गर्न भनिएको छ ।
‘अरु त त्यस्तै हो,धुप किन्न पनि नसकिएकाले रातभर जाग्राम बसेर लामखुट्टे मार्न व्यस्त भइएको छ ।’
प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहराले दस्तखत गरेको उक्त पत्रमा लेखिएको छ, ‘प्रदेश प्रहरी कार्यालयले एकमुष्ट रुपमा सम्बन्धित कार्यालयको प्रशासन शाखासँग समन्वय गरी खटिएका प्रहरी कर्मचारीहरु पुगे नपुगेको यकिन गरेर यस कार्यालयमा अनिवार्य जानकारी गराउनुहुन अनुरोध छ ।’
पत्रमा विराटनगर खटिएको टोलीलाई प्रधान कार्यालयको भण्डार शाखाका वरिष्ठ नायव निरीक्षक उमेश थापालाई खटिने प्रहरी कर्मचारीहरुलाई ठूलो,सानो हतियार र सोको गोली आवश्यकताअनुसार केन्द्रीय निर्वाचन सेलसँग समन्वय गरी उपलब्ध गराउन आदेश दिइएको छ ।
त्यसैगरी प्रधान कार्यालयको लेखा शाखालाई काजमा खटिएका प्रहरी कर्मचारीहरुलाई नियमानुसारको दैनिक भ्रमण भत्ता र सवारी साधनवापतको भाडा रकम उपलब्ध गराउन पनि भनिएको छ ।
उक्त पत्रको बोधार्थ प्रहरी महानिरीक्षकको सचिवालयदेखि सम्बन्धित सबै कार्यालय र गणलाई दिइएको छ । तर, काजमा खटिएका कर्मचारीलाई ‘सुको’ नदिई पठाइएको हो । साथमा एकाध सय रुपैयाँ हुनेबाहेक फौजीसँग अरु धेरै रकम नहुने भएकाले कम्तिमा एक साताको लागि त्यसरी काजमा गएका प्रहरीको खल्तिमा ‘चुनदाम’ नभएको गुनासो छ ।
उनीहरुलाई प्रहरीको वाण्टन ट्रकमा कोचकाच पारेर सोही दिन राति विराटनगर पुर्याइएको हो । बसाई सशस्त्र प्रहरी गणभित्र रहे पनि खल्तीमा पैसा नभएपछि उनीहरु रनभुल्ल परेका छन् । यता त्यहि चुनावमा खटिएका निजामती कर्मचारी र सुरक्षाकर्मीलाई निर्वाचन आयोगको तर्फबाट एक हप्ता अगावै आकर्षक भत्ता रकम प्रदान गरिसकिएको छ । उनीहरुले दिनदिनै मासु र भात,दिउँसो मासु चिउराको खाजा खाँदा प्रहरी प्रधान कार्यालयबाट यो गर्मीमा खटिएर विराटनगर गएका जगेडा फोर्सका प्रहरी कर्मचारीले मुसुरोको दालसँग हरियो खुर्सानी टोक्दै भात खान पनि मुश्किल भएको हो ।
उनीहरुमध्ये एक जनाले पोखेको दुःखेसो लेख्दै एक महिला प्रहरी जवानले पठाएको पत्रमा भनिएको छ, ‘अरु त त्यस्तै हो,धुप किन्न पनि नसकिएकाले रातभर जाग्राम बसेर लामखुट्टे मार्न व्यस्त भइएको छ ।’
नयाँ प्रहरी प्रमुखले जिम्मेवारी लिएको हप्ता दिनभित्रै प्रहरी संगठनलाई हतोत्साहित गराउने यो प्रवृत्तिले फौजीको मन दुखाएको पनि पत्रमा उल्लेख छ ।
टिप्पणीहरू