रूकुममा एमाले कार्यकर्ताको अपहरणपछि हत्या, उम्मेदवारसहित तीन जना पक्राउ
माओवादीले आधार इलाका दाबी गर्दै आएको रुकुममा एमालेका कार्यकर्तामाथि आक्रमण बढाएको छ ।
बैशाख १९ गते रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा एमाले कार्यकर्ता डोटी बुढा जुनमायालाई माओवादीले अपहरणपछि हत्या गरेको बताइन्छ ।
सो गाउँपालिका– ११ टक्सेरामा माओवादी र एमाले–कांग्रेस गठबन्धनका कार्यकर्तावीच झडप भएको थियो । झडपमा दुवै पक्षका आधा दर्जन घाइते भएका थिए घरदैलोका क्रममा भएको भिडन्तपछि जुनमायालाई माओवादी कार्यकर्ताले अपहरण गरी गायब बनाएको आरोप छ । खोजतलास गर्दा मंगलबार घरदेखि करिब ३ किलोमिटरमाथि शव भेटिएको थियो । शव भेटिएपछि गाउँमा त्रास उत्पन्न भएको छ ।
शव भेटिएपछि स्थानीय पार्टी तथा प्रहरीको समन्वयमा पोष्टमार्टमका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएको छ । जिल्ला सदरमुकाममा असुरक्षित हुने भन्दै प्रहरीले नेपालगञ्ज वा बुटवलमध्ये कुनै एक ठाउँमा लैजान भनेसङ्गै पोष्टमार्टमका लागि बुटवल ल्याइएको हो ।
बुढाका भाइ धनबहादुर, नेपाली कांग्रेस पुथा उत्तरगंगा गाउँसभापति तपश बुढा,एक प्रहरी हवल्दारले शवलाई एम्बुलेन्समा राखेर रातारात बुटवल ल्याएका हुन् ।
एमाले पोलिब्युरो सदस्य तथा लुम्बिनी प्रदेशका सहइन्चार्ज दधिराम न्यौपानेले माओवादीले आधार इलाकामै कमजोर भएपछि हत्या र हिंसाको सहारा लिएको बताए । उनले अपहरण गरी हत्या गरेका आफ्ना कार्यकर्ताको पोष्टमार्टम समेत त्यता गर्न नसक्ने अवस्था सिर्जना गराइएको बताए । न्यौपानेसहित एमाले लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कंडेललगायतका नेताहरु हालै उक्त क्षेत्रको चुनावी अभियानका बारेमा स्थलगत जानकारी लिएर आएका थिए ।
रुकुमपूर्व प्रहरीले सो घटनामा संलग्न रहेको आशंकामा माओवादीका स्थानीय तीन नेतालाई पक्राउ गरेको छ । सो गाउँपालिकाका कुमार सिंह,निवर्तमान वडाध्यक्ष जयकुमार बुढा,उनका भाइ अर्जुनकुमार बुढालाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको बताइएको छ ।
टिप्पणीहरू