मान्छे मार्ने राँगोलाई गोली प्रहार
आफैले पालेको राँगोले हानेर मरिएला भनेर कसले कल्पना गरेको हुन्छ होला र ! तर लमजुङ सुन्दरबजार-४, खुम्रुकका ४४ वर्षीय खुमबहादुर नेपालीलाई भयो त्यस्तै । शनिवार चराएर साँझ बाँध्ने क्रममा ३ बर्षे राँगोले जवान छोरी रविनालाई हानेर गम्भीर घाइते पारेपछि रविनाको उपचारको लागि बेसीशहर जिल्ला अस्पताल पुर्याइएको थियो भने बाँध्न नसकेर त्यसै छाडिएको राँगोलाई आइतबार बिहान भकारोमा बाँध्न खोज्दा राँगोले घरधनी खुमबहादुर मौरातीलाई हानेर मरणासन्न पारेको थियो ।
अण्डकोषसहित शरीरको विभिन्न भागमा गम्भीर चोट लागेका मौरातीलाई बिहान ८ बजेतिर उपचार्थ बेंसीशहर जिल्ला अस्पताल पुर्याइएको थियो । थप उपचारका लागि तत्कालै चितवन मेडिकल कलेज भरतपुर लगिए पनि उनको ज्यान बचाउन नसकिएको सिएमसीले जनाएको छ । बिहान ६ बजे नै घाइते मौरातीलाई दिउँसो ११ बजे मात्रै अस्पताल पुगेकोले बचाउन नसकिएको अस्पताल प्रशासनले जनाएको छ भने मैमत्ता राँगोको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । मान्छेको ज्यान लिने राँगालाई प्रहरीले गोली हानेर मारिदिएको जिल्ला प्रहरी कार्यालय लमजुङका डीएसपी कृष्णबहादुर कार्कीले जनाए ।
अञ्जनकुमार
टिप्पणीहरू