सुदूरपूर्वमा निर्वाचन तयारी अन्तिम चरणमा
-कमल भट्टराई
ताप्लेजुङमा पर्सि हुने स्थानीय तहको निर्वाचन तयारी सम्पन्नको अन्तिम चरणमा रहेको छ । आठ वटा गाउँपालिका र एउटा नगरपालिका रहेको जिल्लामा ६१ वटा वडा छन् । त्यसमा एक सय २२ वटा निर्वाचन केन्द्र छन् ।
त्यसमध्ये फुङलिङ नगरपालिकाका नौ वटा केन्द्र बाहेक आजसम्ममा एक सय १३ वटा निर्वाचन केन्द्रका मतदान अधिकृत र अन्य कर्मचारी, सुरक्षाकर्मी र आवश्यक सामाग्री लिएर मतदान केन्द्रतिर पठाइएको निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ ।
ताप्लेजुङका नौ वटा स्थानीय तहमा मतगणनास्थल र त्यसको सुरक्षाको तयारी सम्पन्न भएको छ । फक्ताङलुङ गाउँपालिका बाहेक आठ वटा स्थानीय तहको मतगणनास्थलमा सीसी क्यामरा जडान गर्ने काम सम्पन्न भएको निर्वाचन कार्यालयले जनाएको छ ।
चुनाव प्रचारप्रसारको क्रममा आचारसंहिता उल्लंघनका चार वटा उजुरी परेकोमा स्पष्टीकरण सोधेर तामेलीमा राखिएको निर्वाचन कार्यालयले जानकारी दिएको छ । चुनाव प्रचार प्रसारका कारण शान्तिसुरक्षामा कुनै अवरोध नआएको समेत बताइएको छ ।
ताप्लेजुङको स्थानीय तह निर्वाचन सम्पन्न गर्न छ सय ८३ जना कर्मचारी, छ सय ५५ जना म्यादी प्रहरी, चार सय ४४ जना नेपाल प्रहरी, तीन सय पाँच जना शसस्त्र प्रहरी तथा अन्य आवश्यक नेपाली सेना परिचालन गरिएको छ । फुङलिङ, मित्लुङ, मेरिङदेनमा सेनाको डिस्पोजल टोली समेत राखिएको छ ।
जिल्लाका दुर्गम स्थानमध्ये ओलाङचुङगोला, याङमा, घुन्सा र ग्याब्ला चार स्थानका मतपेटीका हेलिकप्टरबाट फक्ताङलुङ गाउँपालिकाको कार्यालयसम्म ल्याएर गणना गर्ने तयारी छ ।
फक्ताङलुङ गाउँपालिका र मिक्वाखोला गाउँपालिका भौगोलिक विकटताका कारण संवेदनशील मानिएको छ । त्यहाँको मौसम एकाध क्षणमा परिवर्तन हुने गरेको कारण टेण्ट, पाल तथा अन्य आवश्यक सामाग्री तयारी गरेर मतदान सम्पन्न गर्न मतदान अधिकृतहरुलाई विशेष निर्देशन दिइएको बताइएको छ ।
पर्सि मतदान सम्पन्न गरि रातभरमा मतपेटीका संकलन गरेर शनिबार बिहानदेखि मतगणना गर्ने तालिका बनाइएको छ । मतगणना थालिएको ४८ घण्टामा परिणाम आइसक्ने अनुमान गरिएको छ । यसका लागि हरेक पालिकामा दुई स्थानमा मतगणना हल बनाएर त्यसलाई तारजाली लगाएर सुरक्षित गरिएको छ । सीसी क्यामराबाट समेत मतगणनास्थललाई निगरानी गरिने व्यवस्था मिलाइएको निर्वाचन कार्यालयले जनाएको छ ।
टिप्पणीहरू