चुनावी सभामा नजानेलाई माओवादीद्वारा जरिवाना

चुनावी सभामा नजानेलाई माओवादीद्वारा जरिवाना

रोल्पाको सुनछहरी गाउँपालिका–६, फगामस्थित धर्मशाला टोलमा नेकपा (माओवादी केन्द्र) का कार्यकर्ताहरूले आफ्नो पार्टीको चुनावी सभामा सहभागी नभएका सर्वसाधारणलाई आर्थिक जरिवाना तिराएका छन् ।

दबाबको शैलीमा उक्त टोलका सर्वसाधारणलाई धम्की दिँदै कार्यकर्ताहरूले सहभागी नभएका घरबाट ११ सय रुपैयाँका दरले जरिवान रकम उठाउन खोजेका हुन् । उक्त कार्यको स्थानीयहरूले प्रतिकार गरेपछि उल्टै धम्की दिइएको स्थानीय मनबहादुर पुन बताउँछन् ।

स्थानीय रमिता पुनमगरले अघिल्लो महिना लिवाङको भ्यू टावर उद्घाटन र माओवादी केन्द्रको कार्यक्रममा जान उर्दी गरे पनि आफू नगएको बताइन् । श्रीमान कमाउन गएको बेला आफूले घर खर्च चलाउन समेत बालबच्चा पाल्न खर्च जुटाउन गाह्रो भएको उनी बताउँछिन् ।

‘गाउँमा आयोजित चुनावी सभामा सहभागी नभएकाले २२ सय रूपैयाँ जरिवाना माग्न आएको बेला रूपैयाँँ नभएको बताएँ । बरू भाँडाकुँडा दिन सक्छु, गाई–भैँसी दिन सक्छु भनेपछि उनीहरू फर्केर गएका हुन्,’ उनले भनिन् । सोही दिन राति आफू बिनाकारण अपमानित हुनुपरेकोमा आशु झार्न बाध्य भएको उनले बताइन् ।

उता माओवादी केन्द्रका स्थानीय कार्यकर्ताले जरिवाना तिराउन हिँडेको स्वीकार गरेका छन् । कार्यकर्ताका अनुसार गाउँलाई एकतबद्ध बनाउन उक्त उपाय अपनाइएको एक कार्यकर्ताले बताएका हुन् ।

उक्त कार्यबाट नेपालको संविधानले व्यवस्था गरेको विचार अभिव्यक्तिको स्वतन्त्रता र स्वेच्छिक तवरले कुनै पनि राजनीतिक दलमा संगठित हुन, सभासम्मेलनमा सहभागी हुन पाउने अधिकारमा समेत ठाडो हस्तक्षेप भएको देखिएको स्थानीय अन्य दलका नेता तथा कार्यकर्ताले बताएका छन् ।

टिप्पणीहरू