विप्लवबाट फुटेका नेताहरू ना.५ ख ३३७८ नम्बरको गाडीमा रातारात पोखराबाट प्रस्थान,निगरानीको निर्देशन
भर्खर चितवनमा भेला भएर बिप्लव नेकपाबाट छुट्टिई नयाँ पार्टी “नेकपा बहुमत” बनाएका नेताहरु चढेको भाडाको गाडीमाथि निगरानी गर्न प्रहरी हेडक्वार्टरको आदेश गएको छ ।
पर्सि हुन लागेको स्थानीय तहको निर्वाचन बहिष्कार गर्ने घोषणा गरेका ती नेताहरुको निगरानी गर्न प्रहरी प्रधान कार्यालयले सबै जिल्ला प्रहरी कार्यालयलाई आज साँझ सर्कुलर गरेको हो ।
आज पोखरामा बसेको धर्मेन्द्र बास्तोला “कन्चन” र हेमन्तप्रकाश वली “सुदर्शन” समूहका नेताहरुको बैठकले स्थानीय तहको निर्वाचन बिथोल्ने निर्णय गरेको प्रहरीको दाबी छ । उक्त निर्णयपछि उनीहरु ना.५ ख ३३७८ नम्बरको भाडाको जीप प्रयोग गरेर पोखराबाट नेपालगञ्जतर्फ हिँडेपछि प्रहरी सशंकित भएको हो ।
उक्त समूहको निर्णयपछि प्रहरी हेडक्वार्टरको कार्य विभाग,प्रशासन शाखाले आज अपरान्ह लुम्बिनी र गण्डकीका सबै युनिट, प्रहरी परिसर,सात वटै प्रदेश प्रहरी कार्यालय, ७४ वटा जिल्ला प्रहरी कार्यालय र केन्द्रीय निर्वाचन सेललाई पठाएको जानकारीमा उक्त आदेश दिइएको छ ।
प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापाको नामबाट पठाइएको सर्कुलरमा, ‘बाटोमा पर्ने प्रहरी युनिटहरुले उक्त मानिसहरु र गाडीको निगरानी गरी निर्वाचन बिथोल्ने गतिविधि हुन गर्न नपाउने व्यवस्था मिलाई त्यसको विवरण सम्बन्धित जिल्ला प्रहरी कार्यालय र हेडक्वार्टरको परिचालन कक्षसमेतमा जानकारी गराउन,’ भनिएको छ । उक्त टोली बाटोमा हुँदाहुँदै उता बुटवलमा आजै राती बम बिस्फोट गराइएको छ ।
टिप्पणीहरू