लुम्बिनीबाट मोदी सोझै हेलिकप्टरमा स्वर्गद्वारी जाने
आगामी जेठ २ गते बुद्ध जयन्तीको दिन पारेर लुम्बिनी आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण तयारी घनीभूत रूपमा अघि बढेको छ । सो क्रममा हिजै नयाँ दिल्लीबाट आएको सुरक्षा दस्ता र काठमाडौंस्थित भारतीय दूतावासमा कार्यरत वाह्य खुफिया एजेन्सी ‘रअ’ का अधिकारीहरु भैरहवा पुगेका छन् ।
भारतीय टोली भैरहवाको पवन प्यालेस होटेलमा बसेको छ । भैरहवामा पवन पेडाको नामले परिचित मिठाई साहुजीले भर्खरै बनाएको विमानस्थल नजिकैको होटेलमा भारतीय सुरक्षाको रेक्की टोलीले मुकाम खडा गरेको हो । हिजो नयाँ दिल्लीबाट सेनाको इलुसिन नामक रसियन जहाजमा ४२ जनाको सुरक्षा टोली र काठमाडौंस्थित दूतावासमा कार्यरत तीन जना ‘रअ’ का अधिकारीहरु भैरहवा पुगेर आजदेखि भ्रमणको सुरक्षा प्रबन्ध हेर्न लागेका हुन् ।
टोलीमा ‘रअ’ का अनिलकुमार गिरी, पोलिटिकल अफेयर्स हेर्ने प्रथम सचिव प्रियादर्शनीसहित कन्सुलर सेक्सनका गौरव सिंह सँलग्न छन् । सामान्यतयाः भारतीय दूतावासमा भीसालगायत कन्सुलर मामिला ‘रअ’ का कर्मचारीले हेर्ने गर्छन् ।
“हिजो नयाँ दिल्लीबाट सेनाको इलुसिन नामक रसियन जहाजमा ४२ जनाको सुरक्षा टोली र काठमाडौंस्थित दूतावासमा कार्यरत तीन जना ‘रअ’ का अधिकारीहरु भैरहवा पुगेर आजदेखि भ्रमणको सुरक्षा प्रबन्ध हेर्न लागेका हुन् ।”
भारतीय प्रधानमन्त्री पाँचौ पटक नेपाल आएको बेला मौसमले साथ दिएमा प्युठानको स्वर्गद्वारी जाने सम्भावना अत्यधिक छ । धार्मिक स्थल घुम्न हुरुक्कै हुने भएकाले पनि मोदी त्यता जाने सम्भावना बढेको हो । भारतीय सुरक्षा टोलीको एउटा समूह आज बेलुकीसम्म स्वर्गद्वारी पुगेर बस्ने गृह मन्त्रालयको उच्च स्रोतले बताएको छ ।
यसअघि चीनका राष्ट्रपति सि जिनपिङ नेपाल भ्रमणमा आउँदा चार वटा विमान सङ्गसँगै जसो आएका थिए । दुई वटाले आवश्यक सामान बोकेका थिए भने दुई वटा ठूला विमान बोइङ्ग कम्पनीको ७४७ सिरिजका थिए । त्यसमध्ये एउटामा राष्ट्रपति बसेका हुन् । एउटै किसिमको फरक फरक विमान गर्दा भीआइपी सितिमिति टार्गेटेड हुन पाउँदैनन् ।
हिजो दिल्लीबाट आएको विशाल जहाजमा पनि सुरक्षाकै सामान ल्याइएको हो । भ्रमणको निम्ति सुरक्षा दस्ताले हतियार, मोबाइल जामर, ड्रोन जामर बोकेर आउने गर्दछन् ।
त्यसैगरी हेलिकप्टरबाट लुम्बिनीमा उत्रेपछि मोदीलाई चढ्न दुई वटा ज्यागुअर कालो गाडी र अर्को जापानी कार ल्याउने तयारी छ । बुलेटप्रुफ उक्त गाडीको मूल्य प्रतिगोटा झण्डै पाँच करोड नेपाली रुपैयाँ भारतमै पर्छ । त्यसैगरी यसपटक ल्याइने जामरले एक किलोमिटरसम्मका फोन र ड्रोनलाई अवरुद्ध बनाइदिने सामर्थ्य राख्छ ।
हिजो काठमाडौं हुँदै भैरहवा उत्रेको टोली प्रधानमन्त्री मोदीको भ्रमणनिम्ति आएको एड्भान्स टिम हो । जसमा मात्रै ४२ जना सुरक्षाकर्मी छन् । अब जेठ २ गते मङ्गलवार प्रधानमन्त्रीसँगै आउने अर्को टिममा पनि उत्तिकै सुरक्षाकर्मी हुने बताइन्छ ।
हिजो आएको जहाजमा क्रु मेम्बर १४ जना र स्टाण्डबाई क्रु मेम्बर १० जना थिए । आज वा भोलि थप दुई वटा हेलिकप्टर आउँदैछन् । त्यसमा पनि भ्रमणको निम्ति आवश्यक मालसामान ल्याउन लागिएको बताइन्छ ।

टिप्पणीहरू