गठबन्धनका गाँजेमाजे खेल, को पास को फेल ?
स्थानीय निर्वाचनमा भाग लिने सबैभन्दा तल्लो एकाई वडाका सदस्यहरूको दल गाँजेमाजे हुन पुगेको छ । जित हासिल गर्ने नाममा गठबन्धन गर्दा सदस्यका उम्मेदवारले वडाध्यक्षको दलको चिह्न नै लिएर मैदानमा उत्रिएपछि यस्तो अवस्था देखिएको हो ।
उदयपुर त्रियुगा नगरपालिकाको वडा नम्बर १२ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को तर्फबाट वडाध्यक्षमा नवीन राई उम्मेदवार छन् भने बाँकी दुई सदस्य प्रथमलाल चौधरी र रिना रोका नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का तर्फबाट उठेका हुन् । तर, यी सबैको चुनाव चिह्न भने गोलाकारभित्र हँसिया–हथौडा रहेको छ । त्यसैगरी, त्रियुगा नगरपालिका– ११ नम्बर वडामा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को तर्फबाट वडाध्यक्षका उम्मेदवार कालीदास राई (किसन) छन् । उनको कलम चिह्नमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का तर्फबाट बलबहादुर विश्वकर्मा सदस्य उठेका छन् । त्यसैगरी, त्रियुगा नगरपालिका–६ मा नेकपा (एस)का राकेश चौधरी वडाध्यक्षमा लडेका छन् । उनको कलम चिह्नमा माओवादी केन्द्रकी चन्द्रकुमारी कार्कीले महिला सदस्यको रूपमा मत माग्दै हिँडेकी छन् ।
त्यसैगरी, उदयपुरगढी गाउँपालिकामा नेपाल कम्युनष्टि पार्टी (एकीकृत समाजवादी)का तर्फबाट कलम चिह्नमा मानबहादुर केप्छाकी मगरले अध्यक्षको मत मागेका छन् भने उपाध्यक्षमा कांग्रेसका जितबहादुर खड्काले रूख चिह्नमा मत मागेका छन् । तर, वडाध्यक्ष र सदस्यमा जुन दलले वडाध्यक्षको उम्मेदवारी पाएको छ, त्यसै दलको चुनाव चिह्न लिएर उम्मेदवार भएका छन् । उदयपुरगढीको वडा नम्बर ३ मा गठबन्धन दलको तर्फबाट माओवादी केन्द्रका मनोजकुमार कार्कीले उम्मेदवारी दिएका छन् भने उनको सदस्यमा कांग्रेसका दरदल बिक छन् । बिकले रूख छाप छाडेर हँसिया–हथौडामा मत मागी हिँडेका छन् । त्यसैगरी, सोही पालिकाको वडा नम्बर ४ मा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका रामबहादुर घलेले उम्मेदवारी दिएका छन् भने उनका प्यानल सदस्यहरूमा कांग्रेसका सदस्य बाबुराम अधिकारी र मीनाकुमारी तामाङले गोलाकारभित्रको हँसियाहथौडामा मत माग्दै छन् ।
त्यसैगरी, उदयपुरगढी–७ मै माकेका भुवन केप्छाकी मगरले पाएको चुनाव चिह्न हँसिया–हथौडाबाट नेकपा (एस)का होमबहादुर इसाक मगर र रिपु मगर उम्मेदवार भएका छन् । यो काइदा स्थानीय रूपमा गठबन्धन भएका प्रायः सबै जिल्लामा पाइएको छ । यसले चुनावमा भाग लिएका गठबन्धन दलको उम्मेदवारको संख्या तल–माथि हुने निश्चित छ । कुनै निश्चित फरक खाले मानक वा चिह्न निर्धारण गर्दै चुनाव लड्ने व्यवस्था नभएका कारण यो समस्या देखिएको हो । जुन दलको चुनाव चिह्न लिएर विजयी हुन्छन्, त्यस्ता उम्मेदवारले त्यही दलको तर्फबाट जनप्रतिनिधि भएको मान्यता पाउने भएकाले यस्ता उम्मेदवार चिह्नमा उठेकै कारण पछि चेपाइमा पर्ने सम्भावना देखिएको छ । गठबन्धन दलबीच मतमतान्तर हुनेबित्तिकै गठबन्धनका उम्मेदवार भई अर्कै पार्टीको चुनाव चिह्नबाट विजयी भएका उम्मेदवार कुन दलका हुने भन्ने पेचिलो प्रश्न पनि खडा हुने अवस्था सिर्जना भएको छ। यसले गर्दा गठबन्धन बनाएर चुनावी प्रतिस्पर्धामा भाग लिने दलका लागि अलगै चुनाव चिह्न दिनुपर्ने आवश्यक देखिएको छ ।
टिप्पणीहरू