महामारीवीच चीनमा स्वयंसेवक बनेर खटिएको नेपाली ठिटो

महामारीवीच चीनमा स्वयंसेवक बनेर खटिएको नेपाली ठिटो

एक जना नेपाली युवक जो चिनियाँ भाषा पढ्न र लेख्न जान्दैनन् । उनी अहिले चीनमा स्वंयसेवकको भूमिका निभाइरहेका छन् । २९ वर्षीय शंकर कोइरालालाई चिनियाँ भाषा राम्रोसँग पढ्न र लेख्न आउँदैन । तर उनी चीनको घना आवादी भएको सांघाई शहरमा स्वयंसेवकको भूमिकामा छन् ।

नेपालमा पसल सञ्चालन गरेर बसिरहेका शंकरलाई मन्डारिन भाषा भने राम्रोसँग बोल्न आउँछ । आफ्नो पर्यटकीय पसलमा ८० प्रतिशतभन्दा धेरै चिनियाँ पर्यटक आउने भएकाले उनी मन्डारिन भाषा राम्रोसँग बोल्ने र बुझ्ने भएका हुन् ।

हाल उनी चीनमा स्वयंसेवकको रुपमा खटिएका छन् । एकाएक कोरोना बढ्न थालेपछि लकडाउन गरिएको चीनमा स्वयमसेवक जनशक्ति अभाव देखिएपछि उनी सहयोगको निम्ति चीन गएका हुन् । एकातिर विदेशी नागरिक, अर्कोतिर चिनियाँ भाषा राम्रोसँग लेख्न र पढ्न नआउने उनी सांघाई जानुअघि निकै चिन्तित देखिन्थे ।

उनको चिन्ता, ‘आफ्नो कारणले कतै असुविधा हुने त होइन ?’ भन्नेमा केन्द्रित थियो । अहिले स्वयंसेवकका रुपमा उनले दैनिक उपभोग्य सामानहरु चिनियाँको घर घरमा पुर्याउने काम गर्छन् ।

आफूले पहिलोपटक स्वयंसेवकको काम गरेपछि पूरै शरीर दुखेको उनी बताउँछन् । २० दिनसम्म निरन्तर काम गरेपछि मात्र आफूलाई काम गर्ने बानी परेको उनको अनुभव छ । शंकर भन्छन्,‘एउटा लोडमा दुई हजारभन्दा बढी बक्सहरु हुन्छन् । त्यसलाई अनलोड गर्न कम्तीमा पनि आठ जनाको खाँचो पर्छ ।’

‘स्वयंसेवकले छिटोभन्दा छिटो घरमा सामान पुर्याउनुपर्ने हुन्छ । अझ छिटै कुहिने सामग्री पुर्याउन दृढ संकल्प गर्नुपर्छ,’ शंकर भन्छन् । शंकरको दृष्टिमा नेपाल र चीन घनिष्ट मित्रता भएका छिमेकी मुलुक हुन् । नेपाल पर्यटकीय गन्तव्य भएकाले सबैभन्दा धेरै पर्यटक चीनबाट आउने गरेको उनको भनाइ छ ।

टिप्पणीहरू