विशिष्ट व्यक्तिहरु मतदान पुग्ने क्रम जारी

विशिष्ट व्यक्तिहरु मतदान पुग्ने क्रम जारी

स्थानीय तहको निर्वाचनमा आज बिहानदेखि मतदानको क्रम शुरु भएको छ । बिहानै मतदान गर्ने विशिष्ट व्यक्तिहरुको क्रम अहिले पनि जारी छ ।

हालसम्म राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वतको मोदी गाउँपालिका ७ राम्जाको पशुपति मावि ‘क’ केन्द्रबाट मतदान गर्नुभएको छ । अर्थमन्त्री जनार्दन शर्माले रुकुम पश्चिमस्थित मुसीकोटमा मतदान गर्नुभएको हो ।

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले चितवनको भण्डाराबाट र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गौरबाट मतदान गर्नु भएको छ । त्यसैगरी नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले गोरखाको सिरानचोक गाउँपालिका ८ जौवारीस्थित परोपकार आदर्श मतदान केन्द्रबाट मतदान गर्नु भएको हो ।

त्यसैगरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर १४ शान्तिपुरस्थित नेपाल पुलिस स्कुलमा रहेको मतदान केन्द्रमा सबैभन्दा पहिले मतदान गर्नुभएको छ ।

नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका–२ बाट मतदान गर्नुभएको छ भने ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ललितपुर महानगरपालिका २ को रामन्दिरस्थित राजतीर्थ ‘ख’ मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन र पूर्वसभामुख ओनसरी घर्तीले रोल्पा नगरपालिका–७ माडीचौरबाट मतदान गर्नुभएको छ ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले भक्तपुर नगरपालिका ५ साकोठास्थित विद्यार्थी निकेतन माविको मतदान केन्द्रमा मतदान गर्नुभयो भने जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गोरखाको पालुङटार नगरपालिका–१, अन्नपूर्ण माविबाट मतदान गर्नु भएको बताइएको छ ।

त्यसैगरी काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले मेचीनगर ९, कवि शिरोमणि माविमा रहेको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । एमाले उपाध्यक्ष विष्णु पौडेलले बुटवलस्थि सडक डिभिजन केन्द्रमा रहेको मतदान केन्द्रबाट मतदान गर्नु भएको हो ।

 

टिप्पणीहरू