लुम्बिनीप्रति भारतीयको चासो बढ्यो

लुम्बिनीप्रति भारतीयको चासो बढ्यो

बुद्धजयन्तीको अवसर पारेर आगामी सोमबार दिउँसो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आउने भएपछि यतिबेला भारतीय मिडिया, भारतीय ‘रअ’ का एजेन्ट तथा सुरक्षाकर्मीहरुको चासो लुम्बिनीमा ह्वात्तै बढेको छ । उनीहरुको भौतिक उपस्थिति पनि पछिल्लो केही दिनदेखि बढेको हो ।

भारतीय प्रधानमन्त्री मोदीको सुरक्षालाई लिएर यतिबेला रुपन्देहीमा सुरक्षाकर्मी, सरकारी अधिकारीहरु व्यापक छलफल र योजनामा जुटेका छन् ।

रुपन्देहीका सुरक्षाका अधिकारी र लुम्बिनी विकास कोषका अधिकारीहरुले भारतीय मिडियालाई बढी प्राथमिकता दिँदै आफुखुसी प्रतिक्रिया समेत दिएको पाइन्छ । भारतीय सञ्चारकर्मीहरुले सहज तवरले कोषका पदाधिकारीसँग प्रतिक्रिया लिने र भारतीय मिडियामा प्रसारण तथा प्रकाशन गरिरहँदा नेपाली सुरक्षाकर्मीका अधिकारीहरु अलमलमा परेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षीले मायादेवी मन्दिर परिसरमा गर्ने पूजा कार्यक्रम, दीप प्रज्वलन, बोधीवृक्षमा जल सिंचन तथा मार्कर स्टोनमा फूल चढाउन तय गरिएको कार्यक्रम करिब आधा घण्टाको हुनेछ । उक्त कार्यक्रममा भारतीय मिडियालाई मात्रै प्रवेश दिने जनाइएको छ । नेपालका कुनुै पनि सञ्चारमाध्यम र सञ्चारकर्मीलाई उक्त स्थानमा प्रवेश नदिइने भएको हो ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय सम्मेलन तथा ध्यान केन्द्रमा प्रधानमन्त्री देउवा र मोदीले सम्बोधन गर्ने कार्यक्रममा पनि भारतका सबैजसो सञ्चारकर्मीलाई प्रवेश दिइने बताइएको छ । तर नेपालका सरकारी सञ्चारमाध्यमलाई मात्र प्रवेश दिने गरि कार्यक्रम बनाइएको स्रोतको दाबी छ ।

लुम्बिनीको पर्यटन प्रवद्र्धनमा दशकौंदेखि लागिपरेका लुम्बिनी क्षेत्रका सञ्चारकर्मीहरुले मायादेवी मन्दिर परिसर र सम्मेलन केन्द्रमा हुने कार्यक्रममा प्रवेश नपाउने भएपछि खिन्नता प्रकट गरेका छन् ।

यतिबेला कोषका कर्मचारीलाई ती कार्यक्रममा प्रवेश गर्नेहरुको निम्ति पास बनाउन भ्याइनभ्याइ छ । यही बेला कोषका केही कर्मचारी भने आकर्षक चुनावी भत्ताको लोभमा निर्वाचनमा खटिएका छन् । अर्कोतर्फ कोषको काम गर्न यहि समयमा लुम्बिनीमा स्वयमसेवका खटाइएको छ । कोषका केही अधिकृतसहित ४० जना कर्मचारी निर्वाचनमा खटिएका छन् ।

मोदी लुम्बिनी आउने भएपछि भारतीय सञ्चारमाध्यमका धेरैजसो सम्पादक लुम्बिनी आउने तयारीमा देखिन्छन् । अहिले मोदीको सुरक्षाको आवश्यक तयारी गर्न भारतीय कमाण्डो टोलीसमेत लुम्बनीमा परिचालन भएको छ ।

टिप्पणीहरू