हेलिकप्टर नआउँदा होहल्ला,चुनावमा यस्तो पनि तनाव

हेलिकप्टर नआउँदा होहल्ला,चुनावमा यस्तो पनि तनाव

रुकुम (पूर्व) को पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ पेल्मामा अझै मतदान शुरु हुन सकेको छैन ।

जिल्लाको अन्य सबै मतदान केन्द्रमा बिहान ७ बजेबाटै मतदान थालिए पनि पुथाउत्तरगंगा गाउँपालिका २ नम्बर वडाको प्राथमिक विद्यालय पेल्मामा रहेको मतदान केन्द्रबाट भने अझै मतदान शुरु हुन नसकेको रुकुम (पूर्व) का प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले जानकारी दिए ।

उनकाअनुसार पेल्मामा हिजो २९ गते बिहिबार साँझ नेकपा मोओवादी केन्द्र र नेपाली कांग्रेस वीच झडप भएको थियो । झडपपछि नेपाली कांग्रेसले आफ्नो कार्यकर्तालाई चोट लागेको भनेर हेलिकप्टरमार्फत घाइतेको उद्धार गर्नुपर्ने माग राख्दै आएको थियो ।

तर कांग्रेस कार्यकर्ता सामान्य मात्र घाइते भएकाले हेलिकप्टरमार्फत उद्धार गर्नुपर्ने अवस्था नरहेको प्रजिअ खड्काले बताएका छन् । अहिले भने कांग्रेसले आफ्ना कार्यकर्तालाई हेलिकप्टरमार्फत उद्धार गर्नुपर्ने अडान छोडेको छ । झगडाको कारण पनि खुल्न नसकेको बताइएको छ ।

कांग्रेसले चुनावमा भाग नलिनेसमेत बताएको प्रजिअ खड्काले बताएका छन् । अहिले त्यहाँ रहेको सुुरक्षालगायतको समूहले दुवै पक्षलाई सहमतिमा ल्याएर मतदान शुरु गर्ने तयारी गरिरहेको प्रजिअ खड्काको भनाई छ ।

फोनले पनि काम नगर्ने त्यस ठाउँमा के भइरहेको छ भनेर जानकारी लिन पनि हम्मेहम्मे परिरहेको उनी बताउँछन् । स्याटलाइट फोनबाट मुस्किल मुस्किलले सूचना लिइरहेको पनि उनले बताएका छन् ।

टिप्पणीहरू