मतदाता संख्या ४९२,मतदान शुरु बल्ल १२ बजे
रुकुम पूर्वको एक मतदान केन्द्रमा मध्यान्हबाट मात्र मतदान शुरु भएको छ । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर २ को प्रावि पेल्मा मतदान केन्द्रमा मध्यान्ह १२ बजेर ५ मीनेटदेखि मतदान शुरु भएको जिल्ला निर्वाचन कार्यालय रुकुम पूर्वले जनाएको छ । बिहान ७ बजेबाटै मतदान शुरु हुनुपर्ने भएपनि दलीय सहमति नहुँदा मतदान शुरु हुन ढिलाई भएको जिल्ला निर्वाचन अधिकारी तेजकुमार ओलीले जानकारी दिनुभयो ।
दलीय सहमतिमार्फत मध्यान्ह १२ बजेर ५ मीनेटबाट मतदान शुरु भएको र अहिले धमाधम मतदान भइरहेको उहाँले बताउनुभयो । हिजो दलहरुका वीचमा झडप भएको र उक्त विवादका कारण आज दलीय सहमति नजुट्दा ढिलो गरी मतदान शुरु भएको उहाँको भनाई छ । उक्त मतदान केन्द्रको मतदान अधिकृतमा पूर्णप्रसाद ढकाल रहनुभएको छ भने उक्त केन्द्रमा मतदाता संख्या ४ सय ९२ रहेको छ ।
टिप्पणीहरू