गोरखामा गोली चल्यो, स्वयमसेविका घाइते
गोरखाको भीमसेन थापा गाउँपालिकामा गोली चलेको छ । वडा नम्बर २ को ताराखसे मतदानस्थलअन्तर्गत सिद्धकाली मावि मतदान केन्द्रमा गोली चलेको हो । मतदान केन्द्रमा खटिएकी स्वयंसेविका मनीषा थापा घाइते भएकी छन् ।
अज्ञात व्यक्तिले चलाएको गोली लागेर निर्वाचनमा खटिएकी २२ वर्षीया थापा घाइते भएको प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिनुभयो ।
मतदानका क्रममा नेपाली काँग्रेस,माओवादी केन्द्र र एमाले कार्यकर्ताबीच विवाद भएको थियो । निर्वाचन अधिकृत खिमानन्द गौतमका अनुसार अज्ञात व्यक्तिले गोली चलाएको सम्बन्धमा प्रहरीले अनुसन्धान थालेको छ ।
५५ प्रतिशत मत खसिसकेको अवस्थामा स्थिति तनावग्रस्त बनेको गौतमको भनाइ छ । अपरान्ह साढे ४ बजेपछि त्यहाँ विवाद उत्पन्न भएको हो ।
टिप्पणीहरू