हेटौंडामा राप्रपाका दिपक सिंहलाई काँग्रेस र एमालेको समेत भोट थपियो

हेटौंडामा राप्रपाका दिपक सिंहलाई काँग्रेस र एमालेको समेत भोट थपियो

हेटौंडा उपमहानगरपालिकाको ४ वडाका ९०४ मतगणना भर्खरै सकिएको छ,यस क्रममा उपमेयर र सदस्यतर्फ सूर्यलाई भोट हाल्ने कतिपयले मेयरमा भने राप्रपाको हलो चिन्हमा पनि मतदान गरेको भेटिएको छ ।

काँग्रेससमर्थित मतदाताले पनि हलोमा भोट हालेको देखियो । एक हजार मत गन्दा पहिलो स्थानमा समाजवादी र दोस्रोमा एमाले देखिएका छन् ।

मतगणनास्थलमा बसेका प्रतिनिधिहरुले मेयरतर्फ हलोमा मत हाल्नेले उपमेयरमा रुखलाई हालेको र मेयरमा हलो र उपमेयरमा सूर्यमा हाल्नेहरु पनि राम्रैसँग देखिएको बताए ।

हेटौंडामा गठबन्धनका दलहरुको मतसंख्या एमालेको भन्दा निकै बढी छ । जम्मा एक हजार मत गनिएको अवस्थालाई मूल्यांकन गर्दै कमल थापाको गढबाट उनका विरोधी राप्रपा (लिङ्ग्देन) ले मेयरमा १५ हजारसम्म भोट ल्याउने आकलन गरिएको छ । मेयर पदका उम्मेदवार दिपक सिंहको वास्तविक भोट छ हजार रहेको उनीहरुले नै बताएका थिए ।

सिंह राजेन्द्र लिंगेदनका खास हुन् । पहिले राप्रपा अध्यक्ष रहेका कमल थापाको भने हेटौंडामा बीऊ पनि देखिएको छैन ।

अकस्मात प्रकट भएका सिंहले डेढ करोड रुपैयाँ खर्च गरेको अनुमान छ । अहिलेसम्म बदर मतबारे आधिकारिक सूचना बाहिर आएको छैन । १ नम्बर वडाको एक सय मत गनेर सकिँदा दिपक सिंहलाई २० मत एमालेबाट र २० मत काँग्रेसबाट गएको देखिएको हो ।

मकवानपुरमा २ लाख ९४ हजार ९१९ जना मतदाता छन् । जसमध्ये १ लाख ४९ जना पुरुष,१ लाख ४४ हजार ९ सय ५९ जना महिला तथा ६ जना तेस्रोलिंगी हुन् । मकवानपुरमा ६५ प्रतिशत खसेको छ ।

हेटौंडा उपमहानगरपालिकामा १ लाख ४ हजार ४७३ मतमध्ये ७३ हजार ४१४ मत खसेको छ । अहिले वडा नम्बर १, २,१८ र १९ को मतगणना जारी छ । हालसम्म चार वटा वडाको कूल ९०४ मत गणना हुँदा १० मतले गठबन्धनकी मेयर उम्मेदवार मीना लामा अगाडि छिन् । लामाले २८३ मत ल्याउँदा नेकपा एमालेका अनन्त पौडेलले २७३ मत पाएका छन् । त्यस्तै राप्रपाका दिपकबहादुर सिंहले १२४ मत ल्याएका छन् ।

टिप्पणीहरू