जुम्लाका तीन वडामा माओवादी, चारमा काँग्रेस विजयी
जुम्लाका ८ स्थानीय तहमा ६० वडामा धमाधम मतगणना भैरहेको छ । अहिलेसम्म अन्तिम परिणाम आएका वडामध्ये नेपाली कांग्रेसले चार, र माओवादी केन्द्रले तीन वटामा जित हासिल गरेका छन् ।
तातोपानी गाउँपालिका-१ को वडाध्यक्षमा नेपाली कांग्रेसबाट कर्णबहादुर कठायत विजयी भएका छन् । उनी ३४२ मत प्राप्त गर्दै वडाध्यक्षमा निर्वाचित भएका छन् । वडाध्यक्षका प्रत्याशी माओवादी केन्द्रका लोकबहादुर कठायतले २३९ मत गरेका थिए ।
यस्तै हिमा गाउँपालिका-१ मा वडाध्यक्षका उम्मेदवार कांग्रेसका रतनबहादुर शाही विजयी भएका छन् । सिंजा गाउँपालिका-१ मा कांग्रेसका हरिनन्द आचार्य विजयी भएका छन् ।
चन्दननाथ नगरपालिका-१ मा कांग्रेसका तिलकप्रसाद न्यौपाने ३०४ मत प्राप्त गर्दै विजयी भएको मुख्य निर्वाचन अधिकृत ज्वाहरप्रसाद सिंहले बताए । वडाध्यक्षका प्रत्याशी माओवादीका राजबहादुर भक्तले २४५ मत प्राप्त गरेका छन् ।
तिला गाउँपालिका-१ मा माओवादीका जगतबहादुर बस्नेतको प्यानल विजयी भएको छ । उनले ३४६ मत प्राप्त गरेका छन् । कनकासुन्दरी गाउँपालिका-१ मा माओवादीका भीम भण्डारी ३४६ मत प्राप्त गर्दै विजयी भएका छन् ।
त्यस्तै पातारासी गाउँपालिका-१ मा वडाध्यक्षका उम्मेदवार माओवादीका लालसिंह ऐडी विजयी भएका छन् ।
टिप्पणीहरू