गोकुल बाँस्कोटाको जिल्लामा एमालेलाई अप्रिय संकेत
एमाले अध्यक्ष केपी शर्मा ओलीका अति विश्वासपात्रको रुपमा परिचित पूर्वमन्त्री तथा एमाले नेता गोकुल बाँस्कोटाको गृह जिल्लाका अधिकांश पालिकामा प्राप्त प्रारम्भिक मत परिणाममा एमालेको संकेत राम्रो देखिएको छैन । आज बिहानैदेखि गणना थालिएको धुलिखेलको १ नम्बर वडाको मतगणना दिउँसो सकिएको छ ।
उक्त वडामा नेपाली काँग्रेसका उम्मेदवारले बाजी मारेका छन् । धुलिखेलको मेयरमा गठबन्धनको तर्फबाट उठाइएका भन्दा स्वतन्त्र हैसियतमा उठेका नेपाली काँग्रेसका बागी अर्थात् जेब्रा चिन्हका उम्मेदवार बिदुर बस्नेतले शुरुदेखि नै अग्रता लिएका छन् । एमालेका निवर्तमान मेयर अशोक ब्याञ्जुलाई स्वतन्त्र उम्मेदवारले टक्कर दिनसक्ने विश्लेषण गरेर त्यहाँका मतदाता त्यता लागेको विश्लेषण गर्न थालिएको छ ।
दिउँसोबाट धुलिखेलमा २ नम्बर वार्डको मतगणना शुरु हुँदा त्यसबाट पनि ब्यान्जुलाई १ नम्बर वडाको क्षतिपूर्ति हुन सकेन । बनेपा नगरपालिकामा पनि एमालेको राम्रो शुरुवात देखिएको छैन । काभ्रेमा एमालेको सबैभन्दा राम्रो ठानिएको धुलिखेलको हालत त्यस्तो भएपछि अन्यत्र उसैले पनि आश मार्न थालेको अवस्था छ ।
उता पनौतीमा पनि पुरानै मेयर भीम न्यौपानेलाई दोहोर्याइएको कारण एमालेका पुराना नेता,कार्यकर्ता र मतदाताले वितृष्णा जनाएको हो कि भन्ने प्रतिविम्व मतपत्रमा देख्न थालिएको छ । हिजो एमालेसमर्थित जनता नै भोट हाल्न नगएपछि खतराको आकलन गरिएको थियो ।
समग्र काभ्रेमा गठबन्धन विरोधी मत कमजोर हुँदै गएकाले पनि एमाले कमजोर बन्न बाध्य भएको बुझिन्छ । धुलिखेल, पनौती र पाँचखालमा एमालेले जित्ने सम्भावना क्षीण बन्दै गएको बताउन थालिएको छ । अब एमालेलाई काभ्रेका सबै पालिकामा गाह्रो भएको छ ।
पाँचखालमा यसअघि पनि काँग्रेसले जितेको थियो । अन्यत्र मिले पनि गठबन्धनको कुरो नमिलेको धुलिखेलमा मात्रै हो । तर बागी काँग्रेसीले आफूलाई सशक्त ढंगले अघि बढाएपछि अहिले एमालेलाई अप्ठेरो पर्ने अवस्था उत्पन्न भएको बताइन्छ ।
धुलिखेलको उपमेयरमा पनि एमालेबाट भर्खर पसेका वडाध्यक्ष निराजनले जित्ने सम्भावना बढ्दै गएको छ । उनी स्थानीय ८ नम्बर वडाका निवासी र गाया होटेल बसेको घरका धनी हुन् ।
बनेपालगायतका नगरपालिका र गाउँपालिकाको मतपरिणामको प्रारम्भिक संकेत भोलि बिहानसम्म आउने देखिन्छ ।
टिप्पणीहरू