पुरानो गाईघाटको चुनावबारे अन्यौल कायमै, मुख्य निर्वाचन अधिकृतले राजीनामा दिए
उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १२ को जनप्रेमी आधारभूत विद्यालयको मतदान केन्द्रमा अवरुद्ध भएको निर्वाचन तत्कालै हुने वा नहुने भन्ने विषयमा अन्यौलता बढेर गएको छ । निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतले छानवीन गरेर प्रचलित कानूनअनुसार गर्नु भन्ने लिखित निर्देशन दिएको मुख्य निर्वाचन अधिकृतका सहायक दिलिप मगरले जानकारी दिए । तर मुख्य निर्वाचन अधिकृत दिपक खनालले अस्वस्थ्य भई राजीनामा दिएपछि यो अन्यौलता बढेर गएको हो । हिजो दिउँसो मुख्य निर्वाचन अधिकृत कार्यसम्पादन गर्दागर्दै अस्वस्थ भई एकाएक बेहोस भई ढलेका थिए । त्यसपछि खनाललाई सहकर्मीहरुले होशमा ल्याएर थप उपचार सेवा उपलब्ध गराएका थिए ।
शान्त,शिष्ट र मिलनसार स्वभावका मुख्य निर्वाचन अधिकृत खनाललाई चुनावी धपेडीले गर्दा स्वास्थ्यमा गम्भीर समस्या आउन सक्ने सल्लाह चिकित्सकले दिएपछि सो राजीनामा दिएको बुझिएको छ । उनको राजीनामा निर्वाचन आयोगले स्वीकृत गरेको जानकारी भने दिएको छैन । उदयपुरको कटारी नगरपालिका वडा नं. १० सोरुङछब्बिसेको कालिका माविमा रहेको मतदान केन्द्रमा सुरक्षाकर्मीले एकको गोली हानी हत्या गरेका छन् भने एकलाई घाइते बनाएका छन् । त्रियुगा नगरपालिका १२ को पुरानो गाईघाटको बुथमा भने मतदानमा गडबडी भएपछि रोकिएको सूचना जारी गरिएको थियो ।
टिप्पणीहरू