हार र जीतको यो खबर हो लमजुङ्गको
पाँचदलीय गठबन्धनले आफ्नो किल्ला ठानेको स्थानमा धमाधम एमाले उम्मेदवारहरुले जीत निकाल्न सफल भएपछि कति ठाउँमा झडप भएको छ । सुन्दरबजार नगरपालिका (१ मा एमालेका सबै उम्मेदवार विजयी भएका छन् । कर्णबहादुर गुरुङले गठबन्धनबाट उम्मेदवार बनाइएकी माओवादी केन्द्रकी सन्तोषी गौलीलाई झण्डै सय मतको अन्तरले पराजित गरेका छन् ।
एमाले उम्मेदवार कर्णबहादुरले ४ सय ४६ मत ल्याएर विजयी हुँदै गर्दा प्रतिद्धन्दी सन्तोषी गौलीले ३ सय ५५ मत प्राप्त गरिन् ।
महिला सदस्यमा राधा मल्लले ४ सय १५ मत, दलित महिला सदस्यमा शर्मिला ठडराईले ४ सय १२ मत, खुला सदस्यमा दिपेन्द्र बसौलाले ४ सय ३९ मत ल्याएर एमाले प्यानलबाट विजयी भएका हुन् । उत्तरी नाका मर्स्याङदी गाउँपालिका १ घनपोखरामा पनि गठबन्धनलाई पछि पार्दै एमालेका रुद्रमान गुरुङको प्यानल नै विजयी बनेको छ । रुद्रमानले ४ सय १८ मत प्राप्त गर्दा गठबन्धनका कमल गुरुङले मात्र १ सय २० मत पाएका थिए ।

त्यस्तै दोर्दी गाउँपालिका (३ मा एमालेका गणेश खत्रीले जीत निकालेका छन् भने क्व्होलासोथार १ मा पेमा गुरुङ विजयी बनेका छन् । सुन्दरबजार २ मा पुन: एमालेका नवीनकुमार श्रेष्ठ नै भारी मतले विजयी बने । बेसीशहर १ मा एमालेले खाता खोलेको छ । गत स्थानीय निर्वाचनमा कांग्रेसका बलराम श्रेष्ठले जितेको सो वडामा अहिले एमालेका दुर्गाबहादुर बुढाथोकीले उनै श्रेष्ठलाई मात्र २ मतले पराजित गरेका छन् ।
पछिल्लो मतगणनाअनुसार बेसीशहर नगरपालिकामा एमालेका गुमानसिंह अर्याल र पद्मकुमारी गुरुङ, सुन्दरबजार नपामा गठबन्धनका मेयर कृष्णप्रसाद कोइराला र उपमेयरमा एमालेकी भवानी केसी, मध्यनेपालमा गठबन्धनका रमेशकुमार पाण्डे र उपमेयरमा एमालेकै सीता गुरुङले अग्रता लिएका छन् ।
-अञ्जनकुमार
टिप्पणीहरू