धनराजलाई पोखरामा धान्ने सम्भावित आधारहरु

धनराजलाई पोखरामा धान्ने सम्भावित आधारहरु

काठमाण्डौ,भरतपुर,वीरगन्ज र बिराटनगरमा झैं पोखरा उपमहानगरपालिकाको पनि मतगणना जारी छ । हिजोदेखि प्रारम्भ भएको मतगणना अन्यत्र झैँ त्यहाँ पनि निकै सुस्त देखिन्छ ।

मतदानभन्दा केही दिन अघिदेखि नै पोखराको माहौल सकारात्मक बन्दै गएकाले गठबन्धनका मेयर उम्मेदवार धनराज आचार्य र उनको पार्टी नेकपा एकीकृत समाजवादी सबैजसो मत परिणाम आफ्नो पक्षमा आउनेमा ढुक्क देखिएका हुन् ।

उनीहरुले पोखराका हरेक वडामा १ हजार मतान्तरले जित्ने,आचार्यको आफ्नै वडामा पनि त्यसै हुने र १७ नम्बर वडामा पनि त्यहिअनुसारको मतपरिणाम प्राप्त हुने विश्वास लिएका हुन् । ती घना मतदाता भएका वडा हुन् । यसअघिको निर्वाचनमा एमालेले जितेका वडामा आचार्यले जित्ने लक्ष्यका साथ उक्त योजना चुनावअघि नै बनाइएको बताइन्छ ।

मतदानको दिन काँग्रेस र माओवादी समर्थित मतदाताले राम्रैसँग भोट हालेको प्रारम्भिक परिणामले पनि देखाएको उनीहरुको भनाइ छ । तर माओवादीले उपमेयरमा काँग्रेसका उम्मेदवारलाई भने खुलेर मत नहालेको धेरैको आकलन छ । किनभने माओवादीले पोखराका ३३ मध्ये आठ वटा वडा मागेका थिए । एउटा पनि नपाएपछि उनीहरु रिसले चुर भएको बताइन्छ ।

“टिकेटको अपेक्षासहित जागिरबाट राजीनामा दिएका एमालेनिकट प्राध्यापक बिश्वमोहन पराजुलीका अनुसार,उनकै पत्नी जनप्रतिनिधि रहेको १ नम्बर वडाको नतिजासमेत अकल्पनीय आएको छ भने १० हजार मतले कृष्ण थापा बिजयी बन्ने पार्टीको आकलन मिलेको देखिएन ।”

अहिले माओवादीले जति काँग्रेस उपमेयरलाई मत हाल्नुपर्ने हो त्यो नहालेको प्रारम्भिक परिणामले पनि संकेत गरेको काँग्रेसीहरु बताउँछन् । तर मेयरका उम्मेदवार आचार्यलाई भने उनीहरुले भोट हालेको देखिन आएको छ । मतदानअघि उनीहरुले आचार्यको पक्षमा भोट मागेको समेत पाइएको थियो ।

त्यही रिसका कारण काँग्रेसले आयोजना गरेको चुनावअघिको गठबन्धन सभामा माओवादीहरु गएनन् । त्यो दिन माओवादीहरु आफ्नै वडाको प्रचारमा व्यस्त भैदिए । काँग्रेसले एउटा वडा पनि नदिएर दम्भ देखाएको भन्दै कोपिला रानाभाटलाई भोट नहालेको चर्चा छ । कोपिला पोखराकी पुरानी र त्यागी नेतृमध्ये एक हुन् ।

रानाभाटलाई गुरुङ समुदायको भोट राम्रैसँग जाने भएकाले माओवादीबाट नगएको भोट कभर हुने काँग्रेसको भनाइ छ । हिजोदेखि शुरु भएको मतगणनामा एमालेको भोट क्रस भएको पाइएको छ । महानगरको ग्रामीण इलाकाका वडामा कुनै पनि बेला पार्टी एकीकरण हुन सक्ने भन्दै एमाले कार्यकर्ताले धनराजलाई नै मत दिएको पनि पाइएको छ ।

तर एमाले उम्मेदवार कृष्ण थापाले २०५४ सालमा एमालेको विपक्षमा काम गरेको र अहिले प्रदेश सांसद छाडेर आएको भन्दै उनीहरु रुष्ट भएका छन् । अघिल्लो पटक मेयर हुँदा उनीमाथि भ्रष्टाचारलगायतका आरोपसमेत लागेको थियो ।

यता धनराजको पक्षमा सामाजिक सँस्था लायन्स क्लबले पनि राम्रै काम गरेको देखिन्छ । व्यापार व्यवसायी समेत भएकाले उनलाई त्यताबाट पनि फाइदा पुगेको उनका सहयोगीहरुको विश्वास छ ।

त्यहाँ मेयरको उम्मेदवारी मनोनयनअघि एमालेले दिपक पौडेलको टिकट खोसेको थियो जबकि पुष्पज्योति ढुंगाना पनि त्यसबेला प्रमुख दाबेदारमध्येका थिए । ढुंगाना पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका खाँटी मान्छे हुन् । उनै पुष्पज्योति धनराजका व्यवसाय साझेदार भएकाले यो ‘नेक्सस’ले पनि चुनावी परिणाममा असर गरेको अनुमान हुन थालेको छ ।

टिकेटको अपेक्षासहित जागिरबाट राजीनामा दिएका एमालेनिकट प्राध्यापक बिश्वमोहन पराजुलीका अनुसार,उनकै पत्नी जनप्रतिनिधि रहेको १ नम्बर वडाको नतिजासमेत अकल्पनीय आएको छ भने १० हजार मतले कृष्ण थापा बिजयी बन्ने पार्टीको आकलन मिलेको देखिएन ।

टिप्पणीहरू