कान्छीमाया बनिन् तनहुँको पहिलो महिला वडाध्यक्ष

कान्छीमाया बनिन् तनहुँको पहिलो महिला वडाध्यक्ष

स्थानीय तह निर्वाचनमा कान्छीमाया तामाङ तनहुँको पहिलो वडाध्यक्षमा निर्वाचित भएकी छन् । जिल्लाको भानु नगरपालिका–१ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिएकी ५३ वर्षीया तामाङ २०४ मतान्तरले विजयी भएकी हुन् ।

तामाङले ६७२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रेमबहादुर लामाले ४६८ मत प्राप्त गरे ।

वडा सदस्यमा पनि तामाङको प्यानल नै निर्वाचित भएको छ । खुला वडा सदस्यमा तुलबहादुर गुरुङ ७४४, विवेक श्रेष्ठ ७७६, खुला महिला सदस्यमा टकमाया गुरुङ ७६५ र दलित महिला सदस्यमा सावित्री सुनारले ७५१ मत ल्याएर विजयी भएका छन् ।

यसपालि भएको स्थानीय तहको निर्वाचनमा तनहुँमा हालसम्म वडाध्यक्षमा निर्वाचित हुने कान्छीमाया पहिलो हुन् । जिल्लाको १० स्थानीय तहको ८५ वडामा वडाध्यक्ष बन्नलाई ४०८ जनाले उम्मेदवारी दिएकामा महिला १७ जना मात्र छन् । तीमध्ये जित हासिल गर्ने उनी पहिलो हुन् ।

२०६२ सालदेखि परिवर्तनशील महिला सामुदायिक विकास संस्था सञ्चालन गरेकी उनले विजयी भएपछि संक्षिप्त कुराकानी गर्दै महिला सशक्तिकरणलाई जोड दिदै काम गर्ने बताइन् । ‘युवाहरूसँग मिलेर काम गर्ने योजना छ । पशुपालन र कृषिलाई व्यवसायिकरण गर्नेछु’, उनले अगाडि थप्दै भनिन्, ‘सुकुम्बासीको समस्या समाधान गर्न विशेष पहल गर्नेछु ।’

२०७४ सालमा भएको स्थानीय निर्वाचनमा जिल्लाको ऋषिङ गाउँपालिका–८ मा नेपाली कांग्रेसकी भविसरा आले निर्वाचित भएकी थिइन् ।

भानु नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेपाली कांग्रेसको अग्रता कायम रहेको छ । छ हजार २२८ मत गणना हुँदा भानुको मेयरमा नेपाली कांग्रेसका आनन्दराज त्रिपाठी एक हजार ६८१ मतान्तरले अगाडि छन् । उपमेयरमा कांग्रेसकी उमा गोतामे दुई हजार १०६ मतले अगाडि छन् ।

त्रिपाठीले तीन हजार २०७ मत पाएका छन् । नेकपा एमालेका सीताराम बजगाईंले एक हजार ५२६ मत पाएका छन् । उपमेयरमा गोतामेको दुई हजार ७९२ मत आएको छ । एमालेसँग तालमेल गरेर स्वतन्त्र उम्मेदवारी दिएका केशरबहादुर गुरुङको ६८६ प्राप्त भएको छ ।

टिप्पणीहरू