पोखरा एमाले कमरेडहरुबाट अन्तर्घातको अर्को अडियो सार्वजनिक
पोखराका एक एमाले नेताले काँग्रेसका स्थानीय नेतासँग भित्री साँठगाँठ गरेर आफ्नै पार्टीका उम्मेदवारलाई हराउन बनाएको गोप्य रणनीति बाहिरिएको छ । पोखरा महानगरका मेयर र वडाध्यक्षका आफ्ना उम्मेदवारलाई हराउने तयारीबारे दुई नेताले गरेको कुराकानीको अडियो सार्वजनिक भएपछि यस्तो रणनीति बाहिर आएको हो ।
१८ मीनेट ४७ सेकेण्ड लामो उक्त अडियो संवादमा एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङ,प्रदेश सांसद तथा युवासंघका पूर्वअध्यक्ष राजीव पहारी, महानगर कमिटीका अध्यक्ष मानबहादुर गुरुङसमेत आफ्ना उम्मेदवार हराउने योजनामा संलग्न रहेको प्रसङ्ग उल्लेख छ । सत्ता गठबन्धनबाट मेयरमा एकीकृत समाजवादीका धनराज आचार्यलाई हराउँदा र जिताउँदाको सम्भावित लाभ-हानीबारे पिएससहितका नेताहरु सघन छलफलमा रहेको उक्त अडियो संवादमा एमाले नेताले बताएका छन् ।
संवादमा धनराजसँग छलफल भैसकेको र कुरा सकारात्मक रुपमा अघि बढेको भन्दै ती नेताले अर्को ठूलो एमालेपंक्ति समेत कृष्ण थापालाई हराउन हिँडेको भनेका छन् । त्यहि विषयमा कुरा गर्न पिएसको टोली काठमाडौँ गएको उनले कांग्रेस नेतालाई रिपोर्ट गरेका छन् । अरु नेताहरुले पनि एकीकृत समाजवादीका उम्मेदवार धनराजसँग बार्गेनिङ्ग गरिरहेको कुरा अडियो संवादमा सुन्न सकिन्छ ।
‘मेयरको छिनोफानो भा”को छैन,हराइदिने कि जिताइदिने भन्ने तनाव भैरहेको छ । मिटिङ बसिरहेका छौं । पृथ्वी सुब्बा,माधव बाँस्तोला, मानबहादुर गुरुङहरु मिटिङ्ग बसिरहेका छन् । धनराजलाई हराउँदा कति घाटा र जिताउँदा कति घाटा भन्ने कुराको निष्कर्ष निकाल्न बैठक बसिरहेका छन् ।’
एमालेबाट मेयरका उम्मेदवार थापा र एकजना वडाध्यक्षका उम्मेदवारलाई हराउने योजनाको लामो बातचितमा भनिएको छ, ‘मेयरको छिनोफानो भा”को छैन,हराइदिने कि जिताइदिने भन्ने तनाव भैरहेको छ । मिटिङ बसिरहेका छौं । पृथ्वी सुब्बा,माधव बाँस्तोला, मानबहादुर गुरुङहरु मिटिङ्ग बसिरहेका छन् । धनराजलाई हराउँदा कति घाटा र जिताउँदा कति घाटा भन्ने कुराको निष्कर्ष निकाल्न बैठक बसिरहेका छन् ।’
दुईपक्षीय सरसल्लाहमा एमालेबाट वडाध्यक्षका उम्मेदवार (शिव) ले लाखौं लाख बाँडेर चुनाव जित्नसक्ने भएकाले त्यसलाई रोक्ने उपायको खोजी पनि गरिएको छ । शिवको पैसा बाँड्ने समितिमा मलाई राखेको छ,जहाँ जहाँ पैसा बाँड्ने देखिन्छ,त्यहाँ कांग्रेसका उम्मेदवार (रामचन्द्र)लाई पठाउनु पर्छ । रामचन्द्रले वडाध्यक्ष चलाउन सक्दैन,उसलाई जिताइयो भने हामीलाई फाइदा हुन्छ’,एमाले नेताले विश्वास दिलाउँदै भनेका छन् ।
कांग्रेसका उम्मेदवारबाट पैसा थुत्न सकिन्छ कि सकिन्न भन्ने सरसल्लाह पनि अडियोमा सुन्न सकिन्छ । कांग्रेसका उम्मेदवारसँग भित्री कुरा मिलाएर वडामा एमाले हराउने योजनामा सहमत भएका उनीहरुले त्यसो हुँदा पैसा कमाइने र नेता पनि बनिने निष्कर्ष निकालेका छन् ।
‘केटाहरुलाई साइलेन्ट बस्न लगाउने,सबैलाई सबै कुरा नभन्ने’, अडियो संवादमा सुनिन्छ, ‘भित्रभित्र मैले नेताहरुसँग कुरा मिलाइसकेको छु । हाम्रो कुरा बाहिर नजाओस् । हामीलाई एक हजारमा लडाएर नेताहरुले करोड खाने स्थिति नहोस् ।’
यसअघि हिजो पनि एमालेभित्र यस्तै अन्तर्घातको अडियो क्लिप सार्वजनिक भएको थियो । झन्डै १४ मीनेट लामो उक्त संवादमा समाजवादीका उम्मेदवार आचार्यलाई भोट हालेर एमालेका थापालाई हराउन योजनावद्ध तयारीका कुरा गरिएका छन् । दुई जना एमाले नेताले गरेको कुराकानीमा आचार्यसँग पैसा लिएर कलममा भोट खन्याउने र थापालाई देखाइदिने रणनीति बनाइएको छ ।
एमालेबाट पोखरा महानगरको टिकटको आकांक्षी रहेका प्रदेश सांसद तथा युवा संघका पूर्वअध्यक्ष राजीव पहारीका पिए मनोजले कृष्ण थापा हराउन आफू जेसुकै गर्न तयार रहेको बताएका छन् ।
यता, अन्तर्घातको एकपछि अर्को अडियो बजारमा छ्याप्छ्याप्ती भएपछि दबाबमा परेका एमाले पोखरा महानगर कमिटीका अध्यक्ष मानबहादुर गुरुङले आज बिहानै विज्ञप्ति निकालेका छन् । अडियो सार्वजनिक गर्नेमाथि राजनीतिक र कानुनी दुवै उपचार खोज्ने चेतावनी दिँदै उनले यसमा संलग्नहरुको गहिरो अनुसन्धान भैरहेको बताएका छन् ।
पार्टी जीवनमा यस्ता गतिविधिहरु किमार्थ स्वीकार्य नहुने भन्दै गुरुङले घटनाको सत्यतथ्य पत्ता लगाउन छानविन समिति बनाएर यथाशीघ्र निचोड निकाल्ने बताएका छन् । ‘पार्टीका नेतामाथि हिलो छ्याप्ने कार्यमा संलग्न जोसुकै भए पनि कारवाहीको दायरामा ल्याउन कुनै कसुर बाँकी नराख्ने विश्वास दिलाउन चाहन्छु’, उनको विज्ञप्तिमा जनाइएको छ ।
देशकै सबैभन्दा ठूलो महानगरपालिका पोखराको टिकट वितरणलाई लिएर एमालेमा चर्केको आन्तरिक विवाद मतदान सम्पन्न भएलगत्तै सार्वजनिक हुन थालेका हुन् । एमाले अध्यक्ष केपी ओलीले शुरुमा दीपक पौडेललाई महानगरको टिकट दिएका थिए । पिएस गुरुङ निकट पौडेलले टिकट पाएपछि खगराज अधिकारी पक्षले विवाद झिकेको थियो । त्यसपछि पौडेलको टिकट खोसेर कृष्ण थापालाई दिइएको हो ।
पौडेलले टिकट पाएलगत्तै ‘सुन चोरेको’ पुरानो भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेर खगराजहरुले पौडेलको बदनाम गराएको पिएस पक्षको आरोप थियो । यो विवादले त्यतिबेलै चुनावमा अन्तर्घात हुने अनुमान गरिएको थियो ।
टिप्पणीहरू