इलाममा पछिल्लो गणनामा एउटा पालिका काँग्रेसको भागमा, अर्को एमालेको
इलामको माइजोगमाई गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका जीतबहादुर राईलाई पराजित गर्दै नेकपा एमालेका कुशबहादुर थेबे निर्वाचित भएका छन् ।
एमालेका थेबे २२२ मतान्तरले विजयी भएका हुन् । छ वटा वडा रहेको पालिकामा एमालेका थेबेले ५१३५ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एकीेकृत समाजवादीका राईले ४९२३ मत प्राप्त गरेका हुन् ।
उपाध्यक्षमा भने गठबन्धनको तर्फबाट उम्मेद्वार बनेकी नेपाली काँग्रेसकी प्रबिना राई विजयी भएकी छन् । नेकपा एमालेकी सावित्रा भट्टराईलाई २७६ मतान्तरले राईले जितेकी हुन् ।
माइजोगमाई गाउँपालिकामा २०७४ को निर्वाचनमा नेकपा एमालेबाट जीतबहादुर राई पालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । पार्टी विभाजनपछि राई नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।
यस्तै रोङ गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका सुवास तामाङ निर्वाचित भएका छन् । अध्यक्षमा नेकपा एमालेका मेहेरमान तामाङलाई पराजित गर्दै सुवास विजयी भएका हुन् ।
उपाध्यक्षमा भने एमालेकी कृष्णमाया भुजेल विजयी भएकी छन् । औपचारिक घोषणा भने हुन बाँकी छ । यसअघि चुलाचुली गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका रोजन्द्र केरुङ विजयी भइसकेका छन् । उपाध्यक्षमा भने नेकपा एमालेकी दीलकुमारी लिम्बू विजयी भएकी छन् ।
माङसेबुङ गाउँपालिकाको अध्यक्षमा एमालेका हेमन्त राई विजयी भएका छन्् । उपाध्यक्षमा भने गठबन्धनका तर्फबाट जसपाका विनोद नेम्वाङ विजयी भएका छन् ।
सन्दकपुर गाउँपालिकाको अध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका तुलाराम गुरुङ निर्वाचित भएका छन् । उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका हरि लुङ्गेली विजयी भएका हुन् ।
टिप्पणीहरू