माओवादी छाडेका नेताले पनि एमालेमा जादू देखाउन सकेनन्

माओवादी छाडेका नेताले पनि एमालेमा जादू देखाउन सकेनन्

चुनावअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दाबी थियो – एमाले फुटेको होइन,सानो शक्ति चोइटिएर गएकाले चुनावमा कुनै असर गर्दैन । पार्टीमा गुटबन्दी गर्नेहरु बाहिरिएकाले एमाले थप बलियो भएको ओलीको जिकिर रहँदै आएको थियो । एमालेलाई तत्कालीन नेकपाको निरन्तरताका रुपमा अर्थ्याउँदै र ओलीको बोलीमा लोली मिलाउँदै अरु नेताहरुले पनि माधव नेपालले पुर्याएको क्षति पूर्वमाओवादी समूहबाट असुलउपर गर्ने हिसाब सुनाउने गरेका थिए ।

एमालेले यहि प्रचारवाजीका साथ चुनावी माहोल आफ्नो पक्षमा पार्न देशव्यापी पार्टी प्रवेशको लहर चलायो । नाम चलेका र अनुहार बिक्ने पात्रहरु खोजीखोजी पार्टीमा भित्र्याएर फुटको प्रभाव नरहेको देखाउन अध्यक्ष ओलीले अनेकन प्रयास गर्नुभएको थियो । विवादास्पद पात्रका रुपमा चिनिएका वीरगन्जका निवर्तमान मेयर विजय सरावगीदेखि बाँकेका पशुपतिदयाल मिश्रा हुँदै पार्टी फेर्नेमा रेकर्ड बनाएका रंगेलीका दिलिपकुमार बगडियालाई हाताहाती टिकट दिएर एमालेमा भित्र्याइएको थियो । ‘सुर्जेकुमारी’ स्तरका पार्टी प्रवेशका कुरा त गरिसाध्य नै थिएन ।

पहाडमा पाँचदलीय गठबन्धनलाई त्यसै ‘किचकाच’ पार्न सकिने निष्कर्षका साथ ओलीले सम्पूर्ण शक्ति तराई-मधेशमा खन्याएर एमालेको पक्षमा माहोल बनाउनु भएकै हो । ओली सहभागी कार्यक्रममा देखिएको भीडभाड र तामझामले बौद्धिक भनिनेहरुलाई पनि ‘हो कि क्या हो’ भन्ने पारेको थियो । ‘मैं हुँ’ भन्ने केही राजनीतिक विश्लेषकहरुले त्यहि भीडभाड र तामझामलाई देखाएर एमाले नै पहिलो शक्तिका रुपमा आउने विश्लेषण पनि गरेका थिए । तर, चुनावी नतिजा सार्वजनिक हुँदै गर्दा त्यस्ता दाबी,विश्लेषण र आकलन गलत सावित भएका छन् ।

“बादलहरुलाई च्याप्नुको नतिजा त यहि हुन्थ्यो । त्यसैले नयाँ कुरा भएको होइन । टिकट वितरणमा ओलीले हालीमुहाली गरेर राम्रालाई नभई हाम्रालाई दिएकाले पनि धेरैले चुनाव हारेको उनको बुझाइ छ ।”

जुन हिसाबले एमालेको पक्षमा देशव्यापी जनलहर आएको हल्ला गरिएको थियो,त्यसले एमाले पहिलो पार्टी हुनुपर्ने हो । निर्वाचनको सम्पूर्ण नतिजा आइसकेको त छैन,तर अहिलेसम्म प्राप्त परिणामले देशैभरबाट विगतमा जितेका करिब एक सय सिट गुमाएर एमाले ‘कमजोर’ दोस्रो हुने देखिएको छ ।

त्यत्रो तामझामका बाबजुद निर्वाचन परिणाम अपेक्षित नभएपछि हिजो ओलीलाई ‘देउता’ ठान्ने एमालेका नेताहरू असन्तुष्ट देखिएका छन् । पार्टी विभाजनको प्रभावलाई नजरअन्दाज गर्दै ओलीले पूर्वमाओवादीका नेता र गैरराजनीतिक मान्छेलाई बढी महत्व दिएकाले आफूहरुले सोचेजस्तो परिणाम नआएको एमालेका उपल्लो तहका एक नेताले बताए । एमाले बनाउन रगत पसिना बगाएका पुराना नेतालाई ‘माइनस’ गरेर नवप्रवेशीहरुले टिकट पाएकाले यो नतिजा व्यहोर्नुपरेको उनको बुझाइ छ ।

हुन पनि अध्यक्ष ओलीले पूर्वमाओवादीका नेताहरुलाई बढी नै काखी च्याप्नुभएको हो । १० औँ महाधिवेशनमा जनाधार नै नभएका रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी मणि थापाहरुले ‘स्पेस’ पाउँदा एमाले बनाउन ठूलो योगदान गरेका भीम रावल,घनश्याम भुसालहरु ‘लखेटिनु’ परेको थियो । रावल र भुसाल जनधार भएका नेताकै रुपमा चिनिएका हुन् । उनीहरुको आफ्नो जिल्लामा राम्रै प्रभाव छ ।

त्यतिबेलाको ‘१० भाइ समूह’का अर्का एक एमाले नेताले भने, ‘भीम रावल, घनश्याम भुसालजस्ता नेतालाई ‘लात हानेर’ बादलहरुलाई च्याप्नुको नतिजा त यहि हुन्थ्यो । त्यसैले नयाँ कुरा भएको होइन । टिकट वितरणमा ओलीले हालीमुहाली गरेर राम्रालाई नभई हाम्रालाई दिएकाले पनि धेरैले चुनाव हारेको उनको बुझाइ छ ।

मन्त्रीको अफर आएपछि ‘पिसाब फेर्न’ जान्छु भन्दै सिंहदरबार छिरेका बर्दियाका गौरीशंकर चौधरीले पनि माओवादीको भोट काटेर एमाले जिताउन सकेनन् । बरु बर्दियामा माओवादी यसपटक थप सुदढ हुने देखिएको छ ।

पूर्वमाओवादी नेता बादल तत्कालीन नेकपामा सचिवालय सदस्य थिए । झन्डै पाँच दर्जन केन्द्रीय सदस्यसहित नेकपाको ‘हाइकमाण्ड’ मा रहेका उनी एक्लै एमालेमा बसेका नेता हुन् । भएभरका सबै नेता-कार्यकर्ता प्रचण्डतिर छोडेर अन्तिम समयमा ओलीतिर लागेका उनले सहअध्यक्षमा डिल गरेको त्यतिबेला चर्चासमेत थियो । ओलीले निकै महत्व दिएर आफैंतिर राखेका बादल सांगठानिक नेता होइनन् । उनको आफ्नै पनि कुनै आधार क्षेत्र छैन । ०६४ मा माओवादीको रापताप भएका बेला चितवनबाट लडेका उनी त्यसपछिका निर्वाचनमा उठेकै छैनन् ।

ओलीले निकै महत्व दिएर एमालेमै राखेका अर्का पूर्वमाओवादी नेता मणि थापा पनि जनाधार शून्य भएका नेता हुन् । माओवादी जनयुद्धताका सांस्कृतिक मोर्चा सम्हालेका उनी राम्रो सर्जक हुन् तर संगठक होइनन् । माओवादी शान्ति प्रक्रियामा आउनुअगाडि नै छुट्टै पार्टी बनाएर हिँडेका उनी बादलहरुसहितको १० माओवादी घटकबीच एकता हुँदा प्रचण्डतिर फर्किएका हुन् । कम्युनिष्ट आन्दोलनमा लामै ईतिहास भए पनि उनको जनाधार भने छैन ।

एमाले प्रवेश गर्ने पूर्वमाओवादी नेतामध्ये व्यक्तिगत रुपले पनि जनमतमा प्रभाव पार्नसक्ने नेताका रुपमा चिनिएका प्रभु साह पनि आफ्नै गृहजिल्लामा कमजोर देखिएका छन् । साहले मधेसमा राम्रै प्रभाव पार्ने आकलन गरेर केपी ओलीले विशेष महत्व दिएपनि रौतहटमै एमाले कमजोर देखिएको छ । निर्वाचन परिणाम सार्वजनिक भैरहँदा एमालेले जम्मा एक तहमा अग्रता बनाएको छ । बरु,निकै कमजोर आँकिएका माओवादी केन्द्र र एकीकृत समाजवादीले राम्रो मत ल्याएका छन् ।

एमालेका अर्का पूर्वमाओवादी नेता लेखराज भट्टले पनि अध्यक्ष ओलीलाई खुशी पार्नेगरी पार्टीलाई जिताउन सकेनन् । एमाले सुदूरपश्चिम प्रदेश इञ्चार्जसमेत रहेका भट्टले माओवादीको भोट सर्लक्कै काटेर एमालेमा खन्याइदिने अनुमान धेरैले गरेका थिए । तर, त्यसो भएन। बरु उनकै वडामा माओवादीले चुनाव जितिदियो । हालसम्मको मतपरिणाम हेर्दा भट्टको गृहजिल्ला कैलालीमा माओवादीले अघिल्लो चुनावमा पाएको हैसियत कायम राख्ने देखिएको छ । बरु, एमालेलाई ७४ मा जितेका सिट सुरक्षित गर्न निकै चुनौती हुने देखिएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनमा रहेकै बेला मन्त्रीको अफर आएपछि ‘पिसाब फेर्न’ जान्छु भन्दै सिंहदरबार छिरेका बर्दियाका गौरीशंकर चौधरीले पनि माओवादीको भोट काटेर एमालेलाई जिताउन सकेनन् । बरु बर्दियामा माओवादी यसपटक थप सुदढ हुने देखिएको छ ।

टिप्पणीहरू