लमजुङमा अचम्मको समीकरण: कतै काँग्रेस बढारियो भने कतै माओवादी

लमजुङमा अचम्मको समीकरण: कतै काँग्रेस बढारियो भने कतै माओवादी

अञ्जनकुमार

२०५६ र २०६४ को प्रतिनिधि सभा र संविधान सभा निर्वाचनमा प्रत्यासी बनेका एमालेका तत्कालीन जिल्ला पार्टी सचिव मायानाथ अधिकारीले २०५६ मा काँग्रेसका रामबहादुर गुरुङसँग करिब १५ सय र २०६४ मा १२ हजारको अन्तरले माओवादीका बुद्धिराम तमुसँग पराजित भएका थिए । त्यतिबेलाको परिस्थिति अहिलेको भन्दा भिन्न थियो ।

अहिले उनी आफैं प्रदेशमा एमालेका समानुपातिक सांसद, पार्टीको केन्द्रीय सदस्य, लमजुङ्ग जिल्ला इञ्चार्ज तथा नेकपा एमाले गण्डकी प्रदेशका मुख्य सचेतक छन् । यिनै हाई प्रोफाइलका नेताकी श्रीमती इन्दिरा अधिकारी लम्साल आफ्नै वडा दोर्दी गाउँपालिका–१ मा काँग्रेसका लक्ष्मीप्रसाद अधिकारीसँग ९२ मतले पराजित भइन् ।

दोस्रो संविधान सभामा माओवादी केन्द्रको तर्फबाट समानुपातिक सभासद् भइसकेका लालबहादुर गुरुङ एमाले गाउँपालिका अध्यक्ष युवराज अधिकारीसँग ८७ मतले पराजित भएका हुन् । अधिकारीले चार हजार सात सय ३८ मत प्राप्त गरेका थिए भने गुरुङले चार हजार छ सय ५१ मत पाएका थिए । गत निर्वाचनमा माओवादीकै ओमबहादुर गुरुङले ३६ सय २४ मत ल्याएर काँग्रेसका बिच्छबहादुर घलेलाई पराजित गर्दा एमाले माओवादीको समीकरण बनेको थियो ।

तर अहिले माओवादी काँग्रेससहितको सत्ता गठबन्धनको समयमा माओवादीको भागमा परेको अध्यक्ष एमाले एक्लैले फुस्काइदियो । गत निर्वाचनमा अध्यक्षमा पराजित भए पनि काँग्रेसका बिच्छ घले चार हजार नौ सय ५८ मत ल्याएर विजयी बनेका थिए । सत्ता गठबन्धनका वावजुद् पनि एमालेले अध्यक्षसहित बहुमत वडा आफ्नो पक्षमा पार्न सफल भयो ।

एमालेको साथ लागेर गत निर्वाचनमा उपाध्यक्ष हात पारेको नेकपा माओवादी यसपटक मस्र्याङ्दीको नेतृत्वबाट बाहिरिनुपरेको छ । सत्ता गठबन्धनले लोकनाथ घिमिरेलाई अध्यक्ष र अजय तामाङलाई उपाध्यक्ष निर्वाचित गराउन कस्सिए पनि अर्जुनको अर्जुनदृष्टिसँग केही लागेन । सो पालिकामा एमालेका सारथी थिए लमजुङ्गका सह–इन्चार्ज तथा केन्द्रिय सदस्य जमिन्द्रमान घले ।

गत निर्वाचनमा एमालेका अर्जुन गुरुङले काँग्रेसका नरबहादुर गुरुङलाई नै सय मतान्तरले जितेका थिए । यसपटक तिनै गुरुङले लोकनाथलाई एक हजार नौ सय ६१ मतको फराकिलो अन्तरले पराजित गराए ।

शंकरकान्त जोशी नेपाली काँग्रेसमा निकै कुटिल नेता मानिन्छन् । पार्टीको जिल्ला सभापति हुँदै जिल्ला विकास समितिको सभापति समेत भइसकेका व्यक्तिले आफ्नै वडामा अध्यक्ष जिताउन सकेनन् । गत निर्वाचनमा एमालेका अच्युतबाबु बगालेसँग दुई मतले मात्रै पराजित भएका बेसीशहर–२ का प्रत्यासी सुरेशबाबु पाण्डे यसपटक शिवप्रसाद जोशीसँग ५१ मतले पराजित भएका छन् ।

गण्डकी प्रदेश सभा सदस्य तथा एमाले गण्डकी प्रदेश सचिवको पालिका हो दूधपोखरी गाउँपालिका । सो पालिकामा एमाले सँधै तेस्रो शक्ति रहँदै आएको थियो । कहिल्यै सो पालिकामा एमालेले वडा सदस्य समेत जित्न सकेको थिएन । यसपटक काँग्रेसको दह्रो पकड क्षेत्र कोल्कीमा वडा अध्यक्ष र उनको वडा नम्बर २ मा वडा सदस्य भए पनि जिताउन सफल भएका छन् । उक्त पालिकामा काँग्रेसका धनप्रसाद गुरुङ अध्यक्ष र माओवादीका क्षेत्र बहादुर गुरुङसहित आठ वटा वडा गठबन्धनले जितेको छ ।

अघिल्लो निर्वाचनमा एउटा पनि वडा जित्न नसकेको एमालेले दुईवटा वडा २ र ८ मा लक्ष्मण शाही र कृष्णबहादुर रानाभाटलाई जिताए पनि यसअघि जितेको मेयर गुमाएको छ । एमाले माओवादीको गठबन्धन हुँदा एकसय ७५ मतले काँग्रेसका गणेश चिलवाललाई पराजित गरेका एमालेका सिंहबहादुर थापा यसपटक काँग्रेसका खड्कबहादुर गुरुङसँग ११ सय ८४ मतले पराजित भएका छन् ।

अघिल्लो निर्वाचनमा थापासँग मिल्दा पराजित भएका उपमेयरका उम्मेदवार माओवादीका पुष्पराज खनाल काँग्रेससँगको मिलिभगतबाट जित्न सफल भएका हुन् । उनले पाँच हजार आठ सय ८६ मत प्राप्त गर्दा उनका प्रतिद्वन्दी एमालेकी शोभा पन्थीले तीन हजार दुई सय ३४ मत मात्रै प्राप्त गरेकी थिइन् ।

 

टिप्पणीहरू